नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन आज, आठ खेल सुरु हुँदै


२८ आश्विन २०७९, शुक्रबार १२:४२ मा प्रकाशित

कास्की । बहुप्रतिक्षित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता नवौँ राष्ट्रिय खेलकुद आजदेखि गण्डकी प्रदेशको राजधानी सहर पोखरालगायतका अन्य जिल्लामा औपचारिक सुरु हुँदैछ ।
पोखरा रङ्गशालामा अपराह्न ४:०० बजे हजारौँको उपस्थितिमा उद्घाटन हुने प्रतियोगिताको सबै तयारी सकिएको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
उद्घाटन समारोहसहित आज प्रतियोगिताका विभिन्न आठ खेल सुरु हुँदैछन् ।
कतिपय खेल यसअगावै सुरु भएर अहिले जारी छन् भने कतिपय असोज २९ देखि सुरु हुने खेलतालिका रहेको छ । टेनिस, बक्सिङ, भलिबल पुरुष, सफ्टटेनिस, बास्केटबल पुरुष र साइक्लिङ पोखरा रङ्गशालामा आजदेखि सञ्चालन हुनेछन् ।
यसैगरी तनहुँमा महिला बास्केटबल, म्याग्दीमा तेक्वान्दो र सुटिङ काठमाडौँमा हुनेछ ।राष्ट्रिय खेलकुदका ३६ खेलमध्ये क्रिकेट महिला, फुटबल महिला तथा पुरुष, भलिबल महिला, महिला तथा पुरुष ह्याण्डबल, फेन्सिङ, फुल कन्ट्याक्ट कराते, बुद्धिचाल, महिला तथा पुरुष हक्की र गल्फका खेल यसअघि नै सुरु भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here