काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै छ । आज साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
भोलि बिहान १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय तोकिएको छ । भोलि नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ ।
उम्मेदवारका विरुद्ध आयोगले हिजो १० देखि ३ बजेसम्म उजुरी दिन सकिने समय छुट्याइएको थियो । आयोगमा परेको उजुरीमाथि आज साँझ ५ बजेसम्म जाँचबुझ हुने आयोगले जनाएको छ ।
उजुरीहरूमाथि छानबिन गरी आज बेलुका नामावली प्रकाशन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार उजुरी पुष्टि भए उम्मेदवारी स्वतः रद्द हुनेछ ।





