एमालेले जसपा र राप्रपासँगको तालमेलबारे टुङ्गोमा पुग्ने गरी छलफल अघि बढायो


२१ आश्विन २०७९, शुक्रबार १९:५९ मा प्रकाशित

काठमाडौं । एमालेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जसपा नेपाल र राप्रपासँगको तालमेलबारे टुङ्गोमा पुग्ने गरी छलफल अघि बढाएको छ ।

शुक्रबार एक चरण जसपा नेपालका नेतासँग छलफल गरेको एमालेले राप्रपासँग पनि सिट बाँडफाँटबारे छलफल गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट निवास पुग्नुभएको थियो । दुई पार्टीका अध्यक्षसहित नेताहरूबीच आसन्न चुनावमा एमाले–राप्रपा तालमेलबारे छलफल भएको हो ।

बालकोट जाने नेताहरूमा लिङ्देनसहित प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डे र महामन्त्री राजेन्द्र गुरुङ थिए ।

एमालेले चुनावी तालमेलका लागि राप्रपालाई प्राथमिकता दिएको छ । झापाका अतिरिक्त अन्य जिल्लाका केही सिटमा राप्रपासँग तालमेल हुन सक्ने बताइएको छ । राप्रपासँग सबैतिर नभइ सीमित केही सिटका लागि तालमेल हुने एमाले नेताहरुले बताएका छन् ।

त्यस्तै एमालेले राप्रपासँगको छलफलपछि जसपासँग दोस्रो चरणको छलफल भएको छ । जसपासँगको तालमेल टुङ्गो लगाउन अलि बढी गृहकार्य आवश्यक देखिएको बताइएको छ ।

जसपाले आफ्ना माग राखिसकेको र त्यसमा एमालेका शीर्ष नेताहरू बसेर आन्तरिक छलफल र न्यूनतम समझदारीको खाका बनाउने काम भएको बताइएको छ ।

सोही खाकालाई आधार मानेर जसपासँग छलफल गरेर भए पनि तालमेलको मापदण्ड र सिट बाँडफाँट टुङ्ग्याइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here