झापा । तेस्रो खुदुनाबारी गोल्डकपको उपाधि धनकुटा महिला फुटबल क्बल धनकुटाले जितेको छ ।
प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको आइतबार सम्पन्न फाइनलमा टाइब्रेकरमा आयोजक टिम जुनतारा महिला फुटबल क्लब झापालाई ३–० गोल अन्तरले पराजित गर्दै गोल्डकपको उपाधि धनकुटाले जितेको हो ।
निर्धारीत ७० मिनेटको खेलमा दुवै टिमले १–१ गोल गरेपछि बराबरी भएको खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको ३४ मिनेटमा धनकुटाले पाएको फ्रि किकको सदुपयोग गर्दै जुनतारको पोष्टमा धनकुटाकी कप्तान अन्जना थुलुङ राईले गरेको प्रहार गोलमा परिणत भएको थियो । जुनतारले खेलको एडीसनल टाइममा पाएको फ्रि किकको अवसरलाई सन्जना राई (सन्जु)ले प्रहार गर्दा धनकुटकी गोल रक्षक सजिया क्षेत्रीले बचाउ गर्न नसकेपछि खेल बराबरीमा सकिएको थियो ।
टाइब्रेकरमा धनकुटाकी गोल रक्षंक सजिया क्षेत्री, कप्तान अन्जना थुलुङ राई र समिक्षा पौडेलले गरेको प्रहार जुनताराकी गोल रक्षक जसदा लावतीले बचाउ गर्न सकिनन् । सन्ध्या रमतेलको प्रहार भने उनले विफल बनाएकी थिइन् । जुनताका खेलाडी अन्जना राई, लक्ष्मी श्रेष्ठ र नेहा चौधरीको प्रहार भने गोलमा परिणत हुन नसक्दा टिमले पराजय भोग्यो । अन्जनाको प्रहार धनकुटाकी गोल रक्षंक सजिया क्षेत्रीले विफल बनाइ भने लक्ष्मी र नेहाले प्रहार गरेको गोल पोष्टमा ठोकिएर फर्कीएको थियो ।
जितसंगै विजेता धनकुटाले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी पाएको छ । उपविजेता बनेको आयोजक टिम जुनताराले नगद ५५ हजार ५५५ रुपैयाँ सहित ट्रफी पाएको छ । प्रतियोगितामा बेस्ट गोलकिपर धनकुटकी सजिया क्षेत्री, बेस्ट डिफेन्स जुनताराकी सुस्मिता चौधरी, हाइ स्कोरर जुनताराकी अनिता लम्जेल र वमेन अफ दी टुर्नामेन्ट धनकुटाकी कप्तान अन्जना थुलुङ राई घोषित भइन् ।
उनीहरुले जनही ट्रफी सहित नगद ५ हजार प्रात्प गरे । त्यस्तै प्रतियोगितामा राइजिङ युथ प्लेयरको उपाधी आयोजक जुनताराकी कप्तान ममता राउतले प्राप्त गरिन् । उनले नगर ५ हजार हात पारिन् । अर्जुनधारा नगरपालिका मुख्य प्रवर्धक रहेको गोल्डकपलाई च्यारिटी युथ क्लबले आयोजना गरेको हो भने सहआयोजक जुनतारा महिला फुटबल क्लब रहेको छ ।
अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा कार्यालय प्रर्वधक रहेको गोल्डकपलाई सिग्नेचर ह्विस्कीले मुख्य प्रायोजन गरेको थियो । फाइनल खेलमा प्रदेश १ सरकारका कृषी तथा पशुपन्छी मन्त्री झलकसिंह दलार्मीको प्रमुख आतिथ्यता रहेको थियो ।





