रेशम चौधरीलाई लगाएको १४ किलोको नेलप्रति बाबुरामको आक्रोश


७ असार २०७६, शनिबार ११:३९ मा प्रकाशित

काठमाडौं । बिरामी भएर अस्पताल भर्ना भएका राजपा नेता तथा सांसद रेशम चौधरीलाई भेट्न अस्पताल पुगेका डा. बाबुराम भट्टराईले आक्रोश पोखेका छन् ।

समाजवादी पार्टी नेपालका राष्ट्रिय परिसद अध्यक्ष भट्टराईले चौधरीको उपचारको क्रममा १४ किलोको नेल र हत्कडी लगाइएको भन्दै आक्रोश पोखेका हुन् । उनले सामाजिक सञ्जालमार्फत चौधरीलाई भेटेको फोटो सेयर गर्दै १४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो ? भनेर प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहनुभएका सांसद रेशम चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारनिम्ति अहिले वीर अस्पतालमा राख्दा दिनरात खिया लागेको फलामको १४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो ? हिजो निरंकुश राजतन्त्रले ‘आतंकवादी’र ‘अराष्ट्रिय तत्व’को आरोपमा यसरी नै गोलघरको यातना दिएका महानुभावहरूले अहिले उही हर्कत उत्पीडित थारू आन्दोलनकारीहरू माथि गर्नु कति विडम्बनापूर्ण ?’

मेरूदण्डसम्बन्धी बिरामी चौधरीको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । टीकापुर थारू विद्रोहको मुख्य अभियुक्त भनिएका चौधरी जेल जीवन बिताइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here