बिर्तामोड । कुनै देशमा कुनै धर्मका मानिसलाई औपचारिक शिक्षा लिनका लागि बञ्चित गराइन्छ । कुनै यस्ता किसिमका संकुचन छन् जस्लाई चिर्न निकै ठूलो कसरतको आवश्यकता पर्छ ।
त्यस्मा पनि मुसलमान समुदायमा औपचारिक शिक्षा निकै दुर्लभ हुने गरेका घटना हामीमाझ छर्लंग छ । तर, जस्तोसुकै कठिन परिस्थितिमा पनि झापा बिर्तामोडको एउटा मदरसाले औपचारिक शिक्षाको क्षेत्रमा छलाङ मारेको छ ।
धर्म जुनसुकै भएपनि त्यस भित्र भएका राम्रा पक्षको अनुशरण सवैले गर्नुपर्छ भन्ने भनाइ सबैले सुनेकै हो । झापाको बिर्तामोडस्थित विर्ताबजारमा स्थापना भएको मदरसा तालिमुल कुरान प्राथमिक विद्यालय धार्मिक सहिष्णुताको ज्वलन्त उदाहरणका रुपमा स्थापित छ ।
यहाँ मुस्लिम समुदायका बालबालिकालाई कुरानलगायत मुस्लिम धर्मसँग सम्बन्धित विविध शिक्षा प्रदान गरिन्छ । तर, यहाँ अध्यापन गराउने शिक्षिका अन्य धर्ममा आस्था राख्ने छन् । धर्ममा देखिएको संकुचनलाई चिर्दै जागरण ल्याउनका लागि फरक धर्मका शिक्षिकालाई आफ्नो विद्यालयमा नियुक्त गरिएको व्यवस्थापन समितिका अध्यक्ष अफ्रोज खान पैठानले बताउनु भयो ।
यो विद्यालय २०६४ साल असार २६ गते धार्मिक विद्यालयको रुपमा जिल्ला शिक्षा कार्यलय झापामा दर्ता भएको हो । यहाँ प्रत्येक आर्थिक वर्षमा नगरपालिकाबाट ७ लाख रुपैया र संघीय सरकारबाट २ लाख ९३ हजार शैक्षिक अनुदान स्वरुप प्राप्त हुने गरेको छ ।
२०७४ सालदेखि सामुदायिक विद्यालयका रुपमा मान्यता लिइ कक्षा ६ सम्म विद्यालय सञ्चालन हुँदै आएको छ । यस विद्यालयले फरक धार्मिक समुदायका १२ जना शिक्षिकालाई एकै स्थानमा ल्याइ धर्ममा देखिएको विभेद र संकुचनलाई चिर्ने काम गरेको छ । हाल यहाँ १ सय ७१ जना बालबबालिकाले अध्ययन् गर्छन् ।
स्थापनाको समयदेखि शिक्षिका भएर अध्यापन गराइरहनु भएकी मानसीकुमारी राजवंशी शुरुका दिनमा आफूहरुलाई पढाउन सहज नभएको बताउनुहुन्छ । समाजले हेर्ने दृष्टिकोण फरक रहँदै गर्दा पनि शिक्षाको कुनै धर्म र समुदाय नहुने उहाँको भनाइ छ ।
विद्यालयले १ सय २१ जना गरिब तथा विपन्न परिवारका बालबालिकालाई निशुल्क शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयलाई अभिभावकको तर्फबाट ५० जनाले प्रत्येक महिना ७०० रुपैयाँ सहयोग गर्दै आएको विद्यालयकी प्रधानाध्यापक अन्जुम खातुम बताउनु हुन्छ ।
सामाजिक र धार्मिक विविधता सहितको एकताका निम्ति धर्मको नाममा गरिने निषेध र रुढीवादी सोचबाट माथि उठ्नु नै पर्छ । अन्य धार्मिक विद्यालयहरुले पनि यस विद्यालयबाट केही सिक्ने हो कि ?





