काठमाडौं । राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारुढ दल निकट विद्यार्थी संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगर्ने काम असंवैधानिक भएको भन्दै उनीहरुले बिहीबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । संघीय संसदले दोश्रो पटक पारित गरेर पठाएको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतीले संविधानको उल्लंघन गरेको समेत आरोप उनीहरुले लगाएका छन् ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रियताका बिषयमा राजनीतिकरण गर्न खोजिएको बताउनुभयो । उहाँले एमालेका भातृसंगठनहरुले राष्ट्रिय झण्डा दुरुपयोग गरेको भन्दै यस्तो नगर्न खवरदारी समेत गर्नुभयो ।
त्यस्तै अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले शितल निवासबाट संविधान च्यात्ने षडयन्त्र भइको भन्दै खवरदारी गर्नका लागि विद्यार्थीहरु सडकमा आउनुपरको धारणा राख्नुभयो ।
त्यस्तै नेकपा एकीकृत समाजवादी निकटअनेरास्ववियुले मुलुकमा संवैधानिक व्यवस्थालाई कायम राख्न देशभक्तहरु एकजुट हुनुपर्ने बेला आएको बताउनुभयो ।
संयुक्त बिद्यार्थी संगठनहरुले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबिरुद्ध निरुन्तर सडक आन्दोलन गर्ने जनाएका छन् ।
सरकारको प्रस्तावमा संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् ।





