काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य देशको द्रुत विकास र आर्थिक रुपान्तरण रहेको बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभयो ।
आत्मसम्मान, समृद्धि र एकता नै अबको एकमात्र सरकारको लक्ष्य रहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री देउवाले आउँदो मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावले देश लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रुपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्ने र संविधानलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाँले चुनावलाई निष्पक्ष, स्वतन्त्र, भयरहीत वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मालगायतको उपस्थिति रहेको थियो ।





