पब्लिक कम्पनीसँगको साझेदारीमा फोहोर व्यवस्थापन गर्ने तरखरमा झापाका स्थानीय तह


३० भाद्र २०७९, बिहीबार १९:१२ मा प्रकाशित

झापा ।   नेपाल सरकारको स्वीकृतिमा झापाका स्थानीय तहहरुले पब्लिक कम्पनीसँगको लगानी साझेदारीमा फोहोर व्यवस्थापन गर्ने भएका छन् ।

फोहोरबाट ग्यास र मल उत्पादनका लागि कनकाई नगरपालिका –३ मा कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी नामक पब्लिक लिमिटेड कम्पनीले प्लान्ट निर्माण गरिसकेको छ ।

सो प्लान्टमा बिर्तामोडसहित अन्य स्थानीय तहहरुले लगानी साझेदारी गरेर फोहोर व्यवस्थापनको तयारी गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा २६ बमोजिम स्थानीय तहहरुले सार्वजनिक निजी साझेदारी गर्न पाउने व्यवस्था बमोजिम कार्य गर्न पाउने उल्लेख छ ।

सोही अनुसार बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले लगानी गर्ने भएका हुन् । कनकाईले ६१ लाख र अर्जुनधाराले ३० लाख लगानी गरिसकेको छ । पालिकाहरुले २ करोड ५४ लाखका दरले लगानी गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।

पालिकाहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवस्तरीय निर्णयबाट स्वीकृति प्राप्त गरेको छ । सो स्वीकृतिपछि मात्रै बिर्तामोडले लगानीका लागि थप तयारी गरेको हो । बिर्तामोड नगरपालिकाले सो परियोजनामा शेयर खरिद गर्ने बताइएको छ । कम्पनीका सञ्चालकहरु भन्छन्, सबै पालिकाहरुले शेयर खरिद गर्ने हो, अनुदान दिने होइन ।

कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा कम्पनीले सबै पालिकाको फोहोर व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले निर्माण थालेको थियो । उद्देश्य अनुरुप काम अघि बढाएको परियोजनाले वैकल्पिक उर्जा प्रवर्धन केन्द्रबाट समेत साढे ५ करोड पाउनेछ । हालसम्म केन्द्रले २ करोड ७७ लाख प्रदान गरिसकेको कम्पनीले जनाएको छ ।

स्वतन्त्र विज्ञ तारानाथ निरौलाले कम्पनीको दीगो सञ्चालनका लागि व्यवस्थापकीय पक्षबारे सरोकारवालाई जानकारी गराइसकेका छन् । उनले तयार गरेको प्रतिवेदन स्थानीय तहका प्रमुख, उपप्रमुख, कम्पनीका सञ्चालक, सरोकारवालासमक्ष प्रस्तुत समेत गरिसकेका छन् । निरौलाले तयार गरेको प्रतिवेदनमा हालसम्म १३ करोड ५३ लाख ८८ हजार ४ सय ६८ रुपैयाँ १२ पैसा लगानी भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here