काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार लुम्बिनी र गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ ।
महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनमा आगामी शनिबारसम्म देशका विभिन्न स्थानमा वर्षा जारी रहने उल्लेख छ ।
राति देशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १,मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ ।





