काठमाडौँ । बंगलादेश समूह विजेताको रुपमा छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३–० गोल अन्तरले हराउँदै बंगलादेश समूह विजेता बनेको हो । बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन् ।
यस्तै श्रीमोती सरकारले एक गोल गरिन् । खेलको १२ औं मिनेटमा सोप्नाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । सरकारले २२ औं मिनेटमा गोल गर्दा बंगलादेश २–० ले अघि रह्यो । खेलको ५३ औं मिनेटमा सोप्नाले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३–० को जित दिलाइन ।
यस जितसँगै बंगलादेश अपराजित रहदै अन्तिम चारमा पुगेको छ । समूह विजेता बनेको बंगलादेशले समूह ’ए’ मा ३ खेलमा ९ अंक जोड्यो । भारत ३ खेलमा ६ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ ।
अब सेमिफाइनलमा बंगलादेशले भुटानको सामना गर्नेछ । भारतले नेपालको सामना गर्नेछ । समूह ’बी’ मा नेपाल समूह विजेता र भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यसअघि मंगलबार नै भएको अर्को खेलमा माल्दिभ्सलाई ७–० गोल अन्तरले हराउँदै पाकिस्तानले पहिलो जित निकाल्न सफल भयो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानलाई जित दिलाउन नाडिया खानले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै रामिन फारीद, खादिजा काज्मी र अनमुल हिराले एक एक गोल गरिन् । समूह ए को पाकिस्तानले ३ खेलमा ३ अंक जोड्यो । तर, पाकिस्तानले सेमिफाइनलमा स्थान बनाउन सकेन । माल्दिभ्स भने जित विहीन घर फर्किएको छ ।





