काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान लिने काम आज पनि जारी रहनेछ ।
बुधबार महाभियोग सिफारिस समितिमा उहाँले आफूमाथि लागेका आरोपको प्रतिवाद गर्नु भएको थियो ।
महाभियोग प्रस्तावकदेखि सहकर्मीसम्मलाई उहाँले चौतर्फी प्रतिप्रश्न गर्नुभएको छ।
महाभियोग सिफारिस समितिमा बयानका लागि उपस्थित हुनुभएका जबराले महाभियोग राजनीतिक उद्देश्य पूर्तिका लागि मात्र भएको जिकिर गर्नुभयो।
आफूमाथि लागेका आरोपभन्दा बढी आफूमाथि प्रश्न गर्नेलाई उहाँले प्रतिप्रश्न गर्नुभएको छ।
महाभियोगको प्रक्रियाबारे संसद्ले नै संविधान र नियमावली मिचेको भन्दै प्रस्तावको औचित्य नभएको उहाँले जिकिर गर्नुभयो।
निष्क्रिय भइसकेको प्रस्तावमा पनि नागरिकको हैसियतमा जवाफ दिन आफू समितिसमक्ष उपस्थित भएको जबराको तर्क थियो। जबराको बयान बिहीबार पनि जारी रहनेछ।
बयानका क्रममा आरोपबारे जवाफ दिँदै उहाँले सहकर्मी न्यायाधीश, पूर्वन्यायाधीश, बार एसोसिएसन, राजनीतिक दलका नेता, मिडिया सबैलाई प्रतिप्रश्न गर्नुभएको हो।
उहाँले महाभियोग सिफारिस समिति तथा प्रस्ताव समयमा अघि नबढाएकोमा प्रतिनिधि सभालाई पनि प्रश्न गर्नुभयो। आफू प्रश्नबाट बाहिर नरहेको तर्क गर्दै जबराले आफूलाई आरोप लगाउने व्यक्ति र संस्थालाई समेत जवाफ दिनुभयो।