काठमाडौं । सत्ता गठबन्धनमा प्रतिनिधि तथा प्रदेश सभाको सिट बाँडफाँट पेचिलो बन्दै गएको छ । अहिलेसम्मका बैठकमा कुनै सहमति निस्किन सकेको छैन ।
यही मेसोमा सिट बाँडफाँटको सहमति जुटाउन आज पनि कार्यदलको बैठक बस्ने भएको छ ।
बुधबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सहमतिको प्रयासका लागि आज पुनः बैठक बस्न लागेको हो ।
बुधबार साँझ बालुवाटारमा बसेको बैठक कुनै ठोस निर्णय नगरी सकिएको थियो ।
राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरीका अनुसार नेताहरूले आआफ्नो दाबी नछाडेपछि कार्यदलको बैठक पटकपटक निष्कर्षविहीन बन्दै आएको छ ।
नेपाली कांग्रेसले १०० सिटमा दाबी गरिरहेको छ । माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ ।
कांग्रेस नेताहरूले सार्वजनिक रूपमै १०० सिटबाट तल नझर्ने अभिव्यक्ति दिइरहेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि सबै सिट आफू राखेर ‘उब्रिएको सिट’ दिए स्वीकार्य नहुने बताएका छन् ।