बिर्तामोड । राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा आफू हारेर भए पनि झापा क्षेत्र नं ३ बाट राजेन्द्र लिङ्देनलाई जिताएको दाबी गर्नुभएको छ ।
झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग अनुनय विनय गरेर भए पनि हाल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन आफूले भूमिका खेलेको बताउनु भएको हो ।
झापाको बिर्तामोडमा सोमबार राप्रपा नेपाल झापा जिल्ला समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले झापामा एमालेसंगको सहकार्यले मकवानपुरमा कांग्रेसका कार्यकर्ताले आफूलाई भोट नदिने कुरा आफूलाई थाह भएको बताउनुभयो ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले राजेन्द्र लिङ्देनलाई निर्मल निवासले उचालेको दोहोर्याउनु भयो । उहाँले विगतदेखि नै आरोप लगाउँदै आएको कुरा सोमबार पनि दोहोर्याउनु भयो । आफूले विगतमा गरेको कमजोरीकै कारण धेरै समय राजनीतिमा भूमिकाबिहीन भएर बस्नुपरेको उहाँले दुखेसो पोख्नुभयो ।
कार्यक्रममा कार्यकर्ताको न्यून उपस्थिति थियो । राप्रपा नेपालका नेता तथा कार्यकर्ताले राप्रपाका कार्यकर्ताले आफ्ना पार्टीका कार्यकर्तालाई कार्यक्रममा आउन अवरोध गरेको आरोप लगाएका थिए ।





