कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरिको निधन, आजै अन्त्येष्टि गरिने


५ भाद्र २०७९, आईतवार ०६:५७ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ ।

उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा गएराति साढे ९ बजे उहाँको निधन भएको हो ।

प्रतिनिधि सभाका सांसदसमेत रहेका कांग्रेसका नेता एवम् समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किनुभएको थियो ।

घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरि गएको साउन ९ गते मेडिसिटी अस्पताल भर्ना हुनुभएको थियो ।

उहाँको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धाञ्जलीका लागि राखिने नेपाली कांग्रेसले जनाएको छ ।

बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

कांग्रेसले विज्ञप्ति निकालेर  गिरिको निधनबाट स्तब्ध मर्माहत भएको जनाएको छ । उहाँले कांग्रेसको सङ्गठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्याउनु भएको योगदान सधैँ स्मरणीय रहेने विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेसमा बौद्धिक धार तथा समाजवादी चिन्तनलाई प्रतिनिधित्व गर्ने गिरिले अध्ययन र निर्वासित राजनीतिका प्रारम्भिक वर्षमा भारतको दरभङ्गा, पटना, बनारस र दिल्लीमा झन्डै दुई दशक बिताउनु भएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here