काठमाडौं । आगामी मंसिर ४ गते हुने आम चुनावका लागि सिट बाँडफाँट तथा तालमेलका लागि बनेको सत्ता गठबन्धनको कार्यदलको बैठक आज बस्दैछ ।
कार्यदलका संयोजक कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा उक्त कार्यदलको बैठक बस्न लागेको हो ।
गत सोमबार बसेको बैठकमा चुनावी तालमेलको मोडालिटीका बारेमा छलफल भएको थियो ।
सोमबारको बैठकपछि आ-आफ्ना पार्टीमा छलफल गरेर कार्यदलका सदस्यहरूको बैठक आज पुनः बस्न लागेको हो ।
कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)बाट देवप्रसाद गुरुङ र वर्षमान पुन हुनुहुन्छ ।
नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल कार्यदलमा हुनुहुन्छ भने जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा हुनुहुन्छ ।





