नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाई गर्न हुँदैन : प्रचण्ड


२५ श्रावण २०७९, बुधबार १७:४९ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले ढिलाई गर्न नहुने बताउनुभएको छ ।

जापान भ्रमण सम्पन्न गरेर बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिले रोक्नुहुन्छ जस्तो आफूलाई नलागेको र ढिला पनि गर्न नहुने बताउनुभएको हो । त्यस्तै प्रचण्डले पार्टी पदाधिकारी पनि छिटै टुङ्गाउने जिकिर गर्नुभयो ।

उहाँले आफ्नो चीन भ्रमणका बिषयमा पनि छलफल भइरहको जानकारी दिनुभयो । प्रचण्डले जापान भ्रमणका क्रममा नेपाली समूदायसंग बिशेष अन्तक्रिया बहस कार्यक्रम गरेको र जापानमा भएका नेपालीहरु धेरै खुसी भएको पाएको बताउनुभयो ।

त्यस्तै उहाँले जापानको संसद भवनको अवलोकन गरेको र सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका बरिष्ठ नेतासंग छलफल गरेको र दुईपक्षिय सम्बन्धमा बारेमा चर्चा भएको जानकारी दिनुभयो ।

सो क्रममा जापानको संसदीय टोलीलाई चुनावको परिवेक्षका लागि नेपाल आमन्त्रणको निम्तो दिएको उहाँले बताउनुभयो । उहाँले नेपालको कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ विस्तार गर्दै जाने लगायतका विषयमा छलफल भएको धारणा पनि राख्नुभयो ।

प्रचण्ड साउन २१ गते नेपाली जनप्रगतिशील मञ्च, जापानको निमन्त्रणामा त्यसतर्फ जानुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here