म्याग्दीमा पहिरो जाँदा एकै परिवारका पाँच जनाको ज्यान गयो


१७ श्रावण २०७९, मंगलवार १४:३१ मा प्रकाशित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामेङ गाउँमा गएको पहिरोमा परेर एकै परिवारका पाँच जनाको ज्यान गएको छ ।

आज बिहान गएको पहिरोमा परेर ३६ वर्षीय घामबहादुर विक, ३४ वर्षीया राममाया विक, ७ वर्षीया अस्मी पटेल, १८ वर्षीय नवीन विक र १४ वर्षीय राजन विकको ज्यान गएको हो ।

पहिरोमा परेर ६५ वर्षीय गोठे विक र ६३ वर्षीया गोरी विक गम्भीर घाइते भएका छन् ।

आज बिहान बस्तीमाथिबाट खसेको पहिरोले घामबहादुर विक र गोठे विकको घर बगाएको थियो । पहिरोमा परेका दुई जनाको घटनास्थलमै र अन्य बेपत्ता तीनको शव पुरिएको अवस्थामा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले घाइते दुई जनालाई रुम स्वास्थ्यचौकीमा उपचार गरी मौसम अनुकूल भएपछि थप उपचारका लागि दरबाङ पठाउने तयारी भइरहेको जानकारी दिएको छ ।

बेपत्ता भएका उनीहरुको खोजीका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित स्थानीयवासी घटनास्थल पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here