काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बच्चालाई आमाको स्तनपान गराउन शिक्षित बर्गले नै बेवास्ता गरिरहेको बताउनुभएको छ ।
विश्व स्तनपान सप्ताहका अवसरमा परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खापुङले हरेक बच्चाले आमाको स्तनपान गर्न पाउने नैसर्गिक अधिकार भएको भन्दै उनीहरुको अधिकार हनन गर्न नहुने पनि बताउनुभयो ।
उहाँले धेरै स्वास्थ्यसंस्थाहरुले पनि स्तनपानको बिषयमा बिभिन्न कार्यक्रमहरु ल्याउने गरेपनि प्रभावकारी हुन नसकेको धारणा राख्नुभयो । स्तनपान गराउनेको संख्या कर्णाली प्रदेशमा धेरै देखिएको र बागमती प्रदेशमा स्तनपान गराउनेको संख्या कम देखिएको उहाँले बताउनुभयो । उहाँले स्तनपान कम गराउने कारण पत्ता लगाई प्रभावकारी गराउनुपर्ने बताउनुभयो ।
विश्व स्तनपान सप्ताहका अवसरमा उक्त अस्पतालमा बेबी मिल्क बैंक स्थापना गरिएको छ । जन्मेदेखि ६ महिना सम्मका शिशुलाई अनिवार्य रुपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न बेबी मिल्क बैंक स्थापना गरीएको अस्पतालले जनाएको छ ।





