भारत र तेस्रो मुलुकबाट नेपालमा आउने कार्गो बोक्न नेपालले आफ्नै रेल प्रयोग गर्न सक्ने बाटो खुलेको छ । भारतसँग रेल सेवा सम्झौताको सैद्दान्तिक भएसँगै नेपालको आयात–निर्यात कम झण्झटिलो र आर्थिक रुपमा मितव्ययी हुन सक्ने व्यवसायीले आशा गरेका छन् ।
हाल वीरगञ्जको भन्सारसम्म ११ वटा भारतीय रेलले नेपाली कार्गो बोक्छन् । एक भन्सार अधिकारीका अनुसार यसरी नेपाली बल्क कार्गो बोकेर नेपालको नाकासम्म ल्याउँदा वर्षमा अर्बौं रुपैयाँ भारतीय रेल्वेलाई बुझाउनुपर्छ । यदि भारतीय रेलको साटो नेपालको रेल प्रयोग गर्न पाउने हो भने त्यसले ठूलो रकम विदेशिनबाट जोगिने सरकारी अधिकारीहरुको दावी छ ।
हाल नेपाल भित्रिने र नेपालबाट बाहिरिने अधिकांश मालसामानको ओसारपसार भारतीय नाकाहरुबाटै हुने गरेको छ । यसमा रेलबाट ढुवानी हुने सामानको हिस्सा पनि ठूलो छ । अब नयाँ समझदारीअनुसार बिराटनगरसम्म पनि बल्क कार्गो दुईैतर्फीरुपमा आवागमन गराउन सकिन्छ । हालसम्म वीरगञ्जको सुख्खा बन्दरगाहसम्म मात्रै यस्तो बल्क कार्गो आउँछ ।
गत वर्ष नै भन्सार विभागका अधिकारीले भारतमा नेपालकै कार्गो रेल चलाउन सकिने अवधारणापत्र अर्थ मन्त्रालय र बाणिज्य मन्त्रालयमा बुझाएका थिए । भन्सार विभागले पहिलो वर्ष ४ वटा आफ्नो रेल चलाउन सकिने भन्दै सरकारलाई सुझाव दिएको थियो । त्यसैअनुसार रेल सेवा सम्झौता पनि नवीकरण हुने भएकाले अब भारतमा नै नेपाली रेल गुड्ने बाटो खुलेको छ ।





