माओवादीलाई दोश्रो पार्टी बनाउन कांग्रेसले सहयोग नगरे तालमेल सहज नहुने प्रचण्डको चेतावनी


१४ श्रावण २०७९, शनिबार १६:२४ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादीलाई दोश्रो पार्टी बनाउन कांग्रेसले सहयोग नगरे तालमेल सहज हुन नसक्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा प्रचण्डले आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादीलाई कांग्रेसले दोश्रो बनाउन सहयोग गरेमात्र तालमेल सहज हुने र त्यस्तो हुन नसके तालमेल सहज हुन नसक्ने बताउनुभएको हो ।

आफुले कांग्रेसका नेताहरुसंग कुरा गर्दा आगामी निर्वाचनमा माओवादीलाई दोश्रो बनाउनका लागि नेतृत्व तहमा समझदारी बनेको र स्थानीय तह जस्तो नहुने उहाको भनाई छ । प्रचण्डले आगामी निर्वाचन आफ्नो अन्तिम इनिङ्ग्स हुन सक्ने भन्दै पछि सम्मको सन्ततिलाई सम्झने गरि देशलाई समृद्धिको दिशातर्फ लैजाने आफ्नो इच्छा रहेको धारणा राख्नुभयो ।

उहाले आगामी निर्वाचन स्थानीय तह भन्दा राम्रो नजिता ल्याएर देशको बागडोर नै सम्हाल्ने गरि जानुपर्ने बताउनुभयो । स्थानीय चूनावबाट माओवादी भनेको माओवादी केन्द्रमात्र भएको पुष्टि भएको भन्दै प्रचण्डले मोहन बैद्य नेतृत्वको माओवादी, बिप्लव माओवादीको कुनै अर्थ नरहेको र बाबुराम माओवादी नै नभएको तर्क गर्नुभयो ।

प्रचण्डले आगामी मंसिर ४ गते निर्वाचन गर्ने गरि मिति तोक्ने सम्भावना रहेको भन्दै तीन महिनामा माओवादीलाई बलियो बनाउने गरि तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । नेपालको राजनीतिक परिवर्तनमा आफ्नै पार्टीका कारण सम्भव भएको दावी गर्दै प्रचण्डले समावेशी, समानुपातिक प्रणाली माओवादी कै कारण सम्भव भएको बताउनुभयो ।

त्यस्तै प्रचण्डले मुलुकमा बलियो कम्युनिष्ट पार्टी बनाउनका लागि अघि बढेपनि केहि व्यक्तिको स्वार्थका कारण सफल हुन नसकेको जिकिर गर्नुभयो । उहाले तत्काल समाजवादी केन्द्र बन्ने कुनै सम्भावना नरहेको र गठबन्धनलाई नै बलियो बनाएर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here