नेपालमा हुने अन्तराष्ट्रिय सम्मेलनहरुले नेपालको पहिचान अन्तर्राष्ट्रिय जगतमा अझ विस्तारित हुनेछ- राष्ट्रपती भण्डारी


१४ श्रावण २०७९, शनिबार १७:१० मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि राष्ट्रहरूका बिचमा विवाद उत्पन्न भएमा शान्तिपूर्ण माध्यमबाट त्यसको समाधान खोजिनुपर्ने नेपालको मान्यता रहेको बताउनुभएको छ ।

शनिबार ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विश्‍वमा आणविक हतियारको होडबाजी रोकिनुपर्नेमा जोड दिदै सबै प्रकारका युद्धको विरोध गर्ने बताउनुभयो ।

संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्तमा आधारित शान्तिपूर्ण सहअस्तित्व, विश्‍व–बन्धुत्वको भावना, अनाक्रमण र अ–हस्तक्षेपको नीतिले मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुनको पालना एवम् विकासमा योगदान गर्ने नेपालको स्पष्ट दृष्टिकोण रहेको उहाले बताउनुभयो ।

जलवायु परिवर्तन आजको विश्‍वले भोग्नुपरेको ठूलो चुनौतीका रूपमा खडा भएको भन्दै उहाले यसका लागि अन्तर्राष्ट्रिय कानुनहरू बन्न बाँकी नै रहेको धारणा पनि राख्नुभयो ।

उहाले न्यायमा आधारित विश्‍व व्यवस्थाले मात्र नेपाल जस्ता राष्ट्रहरूको विशिष्ट आवश्यकतालाई गम्भीरतापूर्वक बोध गर्नसक्ने जिकिर गर्नुभयो । साथै उहाले नेपाल संयुक्त राष्ट्रसंघको बडापत्र, मानवअधिकारको विश्‍वव्यापी घोषणापत्र, आफूले हस्ताक्षर गरेका द्विपक्षीय, बहुपक्षीय सन्धि, अभिसन्धि र महासन्धिप्रति सदैब प्रतिबद्ध रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले नेपालमा हुने अन्तराष्ट्रिय सम्मेलनहरुले नेपालको पहिचान अन्तर्राष्ट्रिय जगतमा अझ विस्तारित हुने र अन्तर्राष्ट्रिय कानुनको विकासमा नेपालको योगदान स्थापित हुने विश्वास गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here