काठमाडौँ । परराष्ट्र मन्त्री नारायण खड्काले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने जानकारी अमेरिकी सरकारलाई पठाइसकिएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा मन्त्री खड्काले एसपीपीमा सहभागी नहुने नेपाल सरकारको निर्णयसहितको जानकारी कुटनीतिक माध्यमबाट अमेरिकी सरकारलाई लिखित रुपमा जानकारी गराइएको बताउनुभएको हो । साउन ९ गते कुटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अगाडि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकालाई गराइएको उहाँको भनाइ छ ।
वर्तमान गठबन्धन सरकारले संवैधानिक व्यवस्था, संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्नता र पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुनअनुसार विशेष आन्तरिक नीति सञ्चालन गर्दै आएको र त्यसका लागि सरकार सक्षम रहेको मन्त्री खड्काले बताउनुभयो । उहाँले राष्ट्रको हितलाई ध्यानमा राखेर सरकारले आफ्ना कदम अगाडि बढाएको बताउनुभयो । भविश्यमा पनि यही स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई अगाडि बढाउन सकारका प्रतिबद्ध रहेको उहाँको भनाइ छ । उहाँले राष्ट्रको सर्वोपरी हितलाई केन्द्रमा राखी स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्न सरकार सक्षम रहेको बताउनुभयो ।
यसअघि सरकारले गत असार ६ गते एसपिपीलाई अघि नबढाउने र सोको जानकारी अमेरिकालाई दिने निर्णय गरेको थियो । एसपिपीका सम्बन्धमा सरकारको निर्णयका सम्बन्धमा परराष्ट्र मन्त्रालयले अमेरिकालाई पत्राचार नगरेको भन्दै सांसदले आवाज उठाउँदै आएपछि सभामुख अग्निप्रसाद सापकोटाले एसपिपीका बारेमा सदनमा जानकारी गराउन सरकारलाई ‘रुलिङ’ समेत गर्नुभएको थियो ।





