काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले एक लाख रुपयाँ भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरेको छ ।
राष्ट्रिय विभूति भीमसेन थापाको २४८औँ जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले भक्ति थापा स्मृति प्रतिष्ठानका अध्यक्ष रोवबहादुर थापालाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले भीमसेन थापाले स्वतन्त्र देश नेपालको रक्षाका लागि गरेको योगदानको चर्चा गर्नुभयो । उहाँले थापाले जीवनमा गर्नुभएका कर्मका आधारमा नेपालको इतिहासमा राष्ट्रवादी व्यक्तित्वका रुपमा परिचित हुनुभएको बताउनुभएको छ । महत्वपूर्ण कागजात एवं चीजबीजको अभिलेख राख्ने काम पनि भीमसेन थापाकै पालामा सुरु भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा भीमसेन थापा स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा डा. पार्थिवेश्वरप्रसाद तिमल्सिनाले थापाको नासोका रुपमा रहेको लगनटोलस्थित सिलखाना पुरानै स्वरुपमा पुनःनिर्माणको व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो ।





