काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रको विश्वासनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्ने बताउनुभएको छ।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित कोभिड १९ महामारी तथा जनस्वास्थ्यका विषयहरु सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।
अध्यक्ष तिमिल्सिनाले अहिले कोभिड महामारी, मंकिपक्स जस्ता नयाँ(नयाँ सरुवा र नसर्ने रोगहरु बढ्दो क्रममा रहेको बताउँदै पूर्वाधार, जनशक्तिको क्षमता अभिवृद्धी र पूर्व तयारीको काम गर्नुपर्ने बताउनुभयो।
नेपालको स्वास्थ्य क्षेत्रको क्षमताका कारण कतिपय बिरामीहरू उपचारका लागि देशबाहिर जानुपर्ने अवस्था रहेको समेत अध्यक्ष तिमिल्सिनाले औंल्याउनुभयो। ‘नेपालबाट स्वास्थ्य उपचार र स्वास्थ्य सम्बन्धि अध्ययनका लागि रकम बाहिरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘यो हाम्रो स्वास्थ्य क्षेत्रको क्षमता कमजोर वा विश्वासको कमीले हो।अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा कति रकम बाहिरिएको छ भनेर पनि अध्ययन जरुरी छ।‘
स्वास्थ्य क्षेत्रको क्षमता अभिबृद्धि तथा विश्वास बढाउनका लागि स्वास्थ्य क्षेत्रमा कार्यरतसँगै जनतप्रतिनिधिको भूमिका पनि महत्वपूर्ण हुने धारणा उहाँले राख्नुभयो।राजनीतिक परिवर्तनका नाममा देशले लामो समय गुजारेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले अब देशमै अध्ययन, उपचारको व्यवस्था र रोजगारीका अवसर सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो।
‘उपचार र अध्ययनका लागि छिमेकी देशमा जाने संख्या धेरैं छ,’ उहाँले भन्नुभयो, ‘तर, आँखा लगायत केही रोगको सुलभ र गुणस्तरीय उपचार नेपालमा पनि हुन थालेकाले यहाँ आउने क्रम सुरु भएको छ। यो संख्या बृद्धी गर्न हाम्रो क्षमता अझ अभिवृद्धि हुनुपर्छ।‘
त्यसैगरी अध्यक्ष तिमिल्सिनाले कोरोना लगायतका महामारी र अन्य रोगहरु बढ्ने क्रममा रहेकाले पूर्वतयारीका काममा सरकार र सरोकारवाला निकायको ध्यान पुग्न जरूरी रहेको बताउनुभयो ।





