कतारमा हुने विश्वकपमा छोटो अवधिका लागि शून्य लागतमा नेपालले कामदार पठाँउदै


६ श्रावण २०७९, शुक्रबार १८:२३ मा प्रकाशित

काठमाण्डौ । कतारमा हुने विश्वकप फुटबलमा छोटो अवधिका लागि नेपाली श्रमिक लैजान नेपाल सरकारले अनुमति दिएको छ ।

आउँदो नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकप फुटबलको समयमा कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेको र नेपाल सरकारले श्रम स्वीकृति प्रदान गरेर नै श्रमिक पठाउने निर्णय गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा रोजगार व्यवस्थापन महाशाखाका राजिव पोख्रेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘विश्वकप फुटबलमा छोटो अवधिका लागि नेपाली श्रमिक पठाउने सम्बन्धमा नेपाल सरकारको धारण के हो भन्ने विषयमा कतारमा रहेको नेपाली दूतावासले पत्र लेख्यो, यो विषयमा हामीले यहाँ छलफल गर्दा शून्य लागतमा श्रमिक पठाउन अनुमति दिने निर्णय भएको छ ।’

विश्वकप फुटबलको समयमा कतारले छोटो अवधिका लागि झण्डै १२ हजार श्रमिक लिन चाहेको छ । नेपाली श्रमिक पनि लैजानका लागि कतारका विभिन्न कम्पनीहरूले दूतावासमा चासो राखेपछि कतारमा रहेको नेपाली दूतावासले श्रम मन्त्रालयमा पत्र लेखेको थियो ।

जसअनुसार आज शुक्रबार श्रम मन्त्रालयले दुईतर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै बेहोर्ने गरी शून्य लागतमा छोटो अवधिका लागि श्रमिक लैजान अनुमति दिने निर्णय गरेको हो ।
यसरी जाने श्रमिकले श्रम स्वीकृति लिएर नै जान पाउने छन् । लागत खर्च सम्पूर्ण रोजगारदाताले नै बेहोर्ने छन् । श्रमिकले एक रुपैयाँ पनि पैसा तिर्न पर्दैन ।

‘श्रम मन्त्रालयले गरेको यो निर्णय अब हामी कतारमा रहेको नेपाली दूतावासलाई पठाउने छौँ, यो निर्णयसँगै दूतावासले छोटो अवधिका लागि श्रमिक लैजान इच्छुक रोजगारदाताले ल्याएका माग प्रमाणीकरण गर्नुहुनेछ,’ श्रम मन्त्रालयका सहसचिव पोख्रेलले भन्नुभयो ।

विश्वकप फुटबल आउन केही महिना मात्र बाँकी रहेकाले श्रम मन्त्रालयले मागपत्र प्रमाणीकरणपछि श्रमिक पठाउने प्रक्रियालाई पनि छिटो र सरल रूपमा हुने गरी व्यवस्था गरेको जनाएको छ ।

वैदेशिक रोजगार विभागबाट इजाजत लिएका सबै म्यानपावर कम्पनीहरूले यो छोटो अवधिका लागि कामदार मागपत्र ल्याएर श्रमिक पठाउन पाउनेछन् ।

त्यसरी जाने श्रमिकले कतारमा काम गर्ने अवधि ६ महिनाभन्दा कम समयको हुनेछ । म्यानपावर कम्पनी बाहेक व्यक्तिगत रूपमा यसरी छोटो समयको रोजगारीको लागि जान खोज्नेहरूले भिसा ल्याएर श्रम स्वीकृति लिन आएमा पनि श्रम स्वीकृति प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

कानुन अनुसार श्रम स्वीकृतिको अवधि दुई वर्षको हुने व्यवस्था भए पनि कहीँ कतैबाट त्यो भन्दा कम अवधिको कामको अवसर र भिसा आएमा पनि श्रम स्वकृति प्रदान गर्ने पनि कानुनी व्यवस्था भएकाले यो छोटो अवधिका लागि श्रम स्वीकृति दिएरै कामदार पठाउन कानुनी अड्चन नभएको सहसचिव पोख्रेलले जानकारी दिनुभयो ।

तर नेपालबाट कति श्रमिक लैजाने र सेवा सुविधा कति पाउने भन्ने कुरा अहिले नै निश्चित भइसकेको छैन ।
अब मागपत्र प्रमाणीकरणका लागि आएपछि मात्रै त्यहाँ पाउने तलब र सेवा सुविधाको बारेमा जानकारी हुनेछ ।

तर सामान्य अवस्थामा जाने श्रमिकले भन्दा विश्वकपको समयमा छोटो अवधिका लागि जाने श्रमिकले राम्रो तलब र सेवा सुविधा पाउनेछन् ।

विश्वकप फुटबलकै समयमा छोटो अवधिका लागि श्रमिक पठाउँदा हुन सक्ने ठगी रोक्न मन्त्रालयले वैदेशिक रोजगार व्यवसायीहरूसँग छलफल गरेको छ । वैदेशिक रोजगार व्यवसायीहरूले छोटो अवधिका लागि विश्वकपको काममा श्रमिक पठाउँदा कुनै पनि शुल्क नलिने सहमति गरेको मन्त्रालयका सहसचिव पोख्रेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here