झापा । नेपालकै बाटो भएर विदेशी पर्यटकलाई पूर्वी पहाडका धार्मिक एवम् पर्यटकीय क्षेत्र पुग्न सकिन्छ भन्ने सन्देश दिन शनिबारदेखि झापाको काँकरभिट्टाबाट मोटरसाइकल र्याली हुने भएको छ ।
झापाको काँकरभिट्टाबाट शुरु भएको र्याली २७ गते साँझ इलामको सन्दकपुर पुग्ने छ । र्यालीमा नेपालसहित भारत र भुटानका गरी ३० जना सहभागी हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । ‘हात्तीदेखि रेडपाण्डासम्म’ भन्ने उदघोषका साथ हुने मोटरसाइकल र्यालीमा रेडपाण्डाको बासस्थानको संरक्षण र हात्ति हिड्ने कोरिडोरको अवस्थाका बारेमा अध्ययन अवलोकन गरिने र्याली आयोजक मेची पहाडी क्षेत्र पर्यटन प्रबद्र्धन समितिका कार्यकारी निर्देशक केशब धौरालीले जानकारी दिनुभयो ।भारतको बाटो भएर पूर्वी पहाडी जिल्लाका पर्यटकीय स्थलमा अत्यधिक पर्यटक आउने भएपनि नेपालको बाटो प्रयोग गर्ने पर्यटकहरुको संख्या न्यून रहेकाले पनि यो मोटरसाइकल यात्रामा नेपाली बाटोका बारेमा समेत प्रचारप्रसार गरिने धौरालीले बताउनु भयो ।इलामको सन्दकपुर जाने पर्यटकहरुमा भारतीय बाटो प्रयोग गरेर जानेको संख्या नै अत्याधिक रहेकाले पनि सन्दकपुर जान नेपाली बाटो प्रयोग गराउने पनि यो यात्राको मुख्य उद्देश्य रहेको यात्राको सहजीकरण गरिरहेको ग्रिन जेनेरेशनका अध्यक्ष अर्जुन कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
र्यालीका क्रममा टोलीले ठाउँ ठाउँमा नेपाली कला र संस्कृति झल्किने साँस्कृतिक कार्यक्रमसहित रेडपाण्डाको वासस्थानका बारेमा समेत स्थानीयसँग छलफल गर्ने छ ।र्यालीमा सहभागीलाई विभिन्न झापा तथा इलाम जिल्लाका पालिकाहरुले खान र वस्नसहित अन्य सुविधा उपलब्ध गराएका छन् ।
सरकारले सन् २०२० लाई भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेर नेपालमा २० लाख पर्यटक भित्रियाउने लक्ष्य लिएको छ । सरकारको उक्त लक्ष्य प्राप्तीका लागि पनि यो मोटरसाइकल यात्राले सहयोग पुर्याउने कार्यकारी निर्देशक धौरालीले बताउनु भयो । धौरालीका अनुसार पुर्वी पहाडी जिल्ला इलाम, पाँचथर तथा ताप्लेजुङका पर्यटकीय तथा धार्मिकस्थलहरुमा धेरै भन्दा धेरै पर्यटक भित्रियाउन सकिन्छ ।





