भाषा संस्कृतिको संरक्षणका लागी गम्भीर भएर सोच्ने बेला आएको छ


२४ जेष्ठ २०७६, शुक्रबार १५:०९ मा प्रकाशित

काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुनले भाषा संस्कृतिको उचित संरक्षणका लागी गम्भीर भएर सोच्ने बेला आएको बताउनु भएको छ ।
आदिवासी जनजाती चलचित्र महासंघद्वारा शुक्रबार काठमाडौंमा आयोजित ‘आदिवासी जनजाति चलचित्र महोत्सव २०७६’ को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले मौलिक भाषा,संस्कृतिको संरक्षण गर्ने नीति पनि स्पष्ट हुनुपर्ने समेत बताउनुभयो ।विज्ञहरुले नेपालमा २० वटा भाषामात्रै सुरक्षित रहेको बताएको प्रसँग उल्लेख गर्दै उहाले आदिवासी जनजातिका भाषा लोप हुन नदिन पहल गर्नुपर्ने बताउनुभयो ।

प्रकृतिको अनुपम उपहारका रुपमा रहेको प्राकृतिक सुन्दरता र परापूर्व कालदेखि चलिआएको विविधतायुक्त कलासंस्कृतिका कारण नेपाल विश्वकै सुन्दर देश भएको उपराष्ट्रपति पुनको भनाइ छ ।चलचित्र आमसञ्चार,मनोरञ्जन र चेतना अभिवृद्धिको एउटा सशक्त र प्रभावकारी माध्यम भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले सोही कारण यसलाई समाजको ऐना समेत भनिने टिप्पणी गर्नुभयो ।

महोत्सवमा गुरुङ भाषाको फिल्म म्ले क्यु र रिजेनासा, माझी भाषाको मोङो डोङा २, शेर्पा भाषाको द लस्ट नोमेड्स अफ एभरेस्ट,राजवंशी भाषाको पुल्टी,राई भाषाको यारी र संस्कार,सुनुवार भाषाको छेँगु लगाएतका चलचित्र प्रदर्शन गरिने महासंघले जनाएको छ ।

२०४४ सालमा नेवारी भाषाको फिल्म शिलु निर्माण भएदेखि झन्डै ७ सयभन्दा बढी कथानक आदिवासी फिल्म र ५ सयभन्दा बढी सर्ट फिल्म र डकुमेन्ट्री निर्माण भइसकेका छन्। तर नीतिगत समस्याका कारण सोचेअनुरूप आदिवासी जनजाति फिल्मकर्मीको विकास हुन नसकेको महासंघले जनाएको छ ।महोत्सव तीन दिनसम्म चल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here