मेची आँखा अस्पतालले २५ बर्षमा गर्यो करिब २६ लाख आँखाका बिरामीको उपचार


३१ असार २०७९, शुक्रबार २०:२१ मा प्रकाशित

झापा । स्थापना भएको २५ बर्षमा झापाको बिर्तामोडमा रहेको मेची आँखा अस्पतालले २५ लाख ९४ हजार ८ सय १३ जना आँखा रोगीको उपचार गरेको छ।

२५ बर्ष अघि झापाको बिर्तामोडमा एउटा सानो कोठाबाट शुरु गरिएको मेची आँखा उपचार केन्द्र अहिले सुविधा सम्पन्न मेची आँखा अस्पतालको रुपमा परिणत भएको छ ।

स्थापना भएको २५ बर्षभित्र मेची आँखा अस्पतालले १९ लाख ७३ हजार २९ जना नयाँ बिरामी तथा ६ लाख २१ हजार ७ सय ८४ जना फलोअपमा आएका बिरामीहरूको उपचार गरेको अस्पतालले जनाएको छ । सन् २०१९ मा अस्पतालले सबैभन्दा बढी २ लाख ४ हजार ३१ जना बिरामीको उपचार गरेको थियो ।

शुक्रबार अस्पताल स्थापनाको २५ औं बार्षिकोत्सव कार्यक्रमको आयोजना गरेर मेची आँखा अस्पतालले २५ बर्षमा भएको प्रगतिका बारेमा जानकारी दिएको हो।

गएको २५ बर्षमा मेची आँखा अस्पतालले ३ लाख ३४ हजार ७०८ जनाको आँखाको शल्यक्रिया गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले जानकारी दिनुभयो । तीमध्ये सबै भन्दा बढी ७४ प्रतिशत मोतियाबिन्दु भएका बिरामीको आँखाको शल्यक्रिया भएको थियो ।

तीन जिल्लाका आठ स्थानमा शाखा स्थापना गरेर बिरामीको सेवा गरिरहेको मेची आँखा अस्पतालले विभिन्न अनुसन्धानका काम पनि गरिरहेको डा. जोशीले बताउनु भयो ।

सन् १९९६ मा बिर्तामोडमा एउटा सानो कोठामा मेची आँखा उपचार केन्द्रको नाममा स्थापना भएको केन्द्र अहिले सुविधा सम्पन्न अस्पतालको रुपमा स्थापित छ । अस्पतालले संभव हुने किसिमका सेवा विस्तारका काम गरिरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. जोशी बताउनुहुन्छ।

भारत तथा नजिकका तेस्रा मुलुक भुटान तथा बंगलादेशबाट मेची आँखा अस्पतालमा आँखा उपचारका लागि बिरामीहरू आउने गरेका छन् । अधिकांश बिरामी भारतका विभिन्न राज्यका नागरिक हुने गरेका छन् ।

भारतमा आँखाको उपचार महंगो हुने गरेका कारण पनि भारतीय नागरिक नेपालका सीमावर्ती जिल्लाका आँखा अस्पतालहरूमा उपचारका लागि आउने गरेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here