कोरोनाको सङ्क्रमण बढ्न थालेसँगै स्वास्थ्य मापदण्ड पालना गर्न विज्ञहरुको आग्रह


३२ असार २०७९, शनिबार ०७:४९ मा प्रकाशित

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेसगै स्वास्थ्य मापदण्ड पालना गर्न विज्ञहरुले आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हिजो मात्र थप २ सय २९ जनामा सङ्क्रमण पुष्टि भएर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २ सय नाघेको छ । सङ्क्रमण दर ६ प्रतिशतभन्दा बढी पुगेको र अहिले ओमिक्रोन भेरियन्ट र यसका उपप्रजाति ‘बीए टू’ र ‘बीए फाइभ’ बढी सक्रिय रहेको पाइएको मन्त्रालयले जनाएकाे छ ।

कोरोनाको ‘बी फाइभ’ उपप्रजातिलाई सबैभन्दा धेरै सङ्क्रामक मानिन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार भारतीय सीमा नाकाबाट नेपाल आउनेमा सङ्क्रमण बढी देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डाक्टर शेरबहादुर पुनले सङ्क्रमण दर बढिरहेको यो बेला नआत्तिन तर सावधानी अपनाउन आग्रह गर्नु भएको हो।

धेरैले खोप लगाइसकेकाले पहिलेजस्तो अवस्था गम्भीर नभए पनि स्वास्थ्य मापदण्ड पालना भने अनिवार्य गर्नुपर्ने उहाँको भनाइ छ । घर बाहिर निस्कँदा या भिडभाड भएको बेलामा मास्क लगाउन, साबुनपानीले हात धुन, स्यानिटाइजर प्रयोग गर्न र भिडभाड भएको ठाउँमा भौतिक दूरीको ख्याल गर्न विज्ञहरुले आग्रह गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here