कोरोना संक्रमण बढेको बढ्यै, गम्भीर समस्याका बिरामी भने न्यून


३१ असार २०७९, शुक्रबार ०७:३९ मा प्रकाशित

काठमाडौं । ओमिक्रोनको सबभेरियन्ट बिए फाइभ देखिएपछि नेपालमा बढ्न थालेको कोरोना संक्रमण हरेक दिन उकालो लागिरहेको छ ।

गत शनिबार (२५ असार) देखि तीन अंकमा उक्लिएको संक्रमण निरन्तर बढेको छ । संक्रमणदर पनि बढेको छ ।

शनिबार एक सय दुईजनामा संक्रमण देखिँदा संक्रमणदर ३.९० प्रतिशत थियो । पाँच दिनपछि दुई सय ६० जनामा संक्रमण पुष्टि भएकोमा संक्रमणदर ६.७६ प्रतिशत पुगेको छ ।

पाँच दिनमा दैनिक संक्रमण दोब्बरभन्दा धेरैले बढ्दा संक्रमणदर पनि झन्डै दोब्बर देखिएको छ । संक्रमणदर बढे पनि मृत्युदर भने शून्यमै छ । बिहीबार ४८ संक्रमित संक्रमणमुक्त भएका छन् ।

त्रिवि शिक्षण अस्पतालका डा. नीरज बम संक्रमण बढे पनि संक्रमितमा जटिल स्वास्थ्य समस्या नदेखिएको बताउँछन् । ‘संक्रमण बढे पनि गम्भीर बिरामी अस्पतालमा छैनन् । अधिकांशमा सामान्य रुघाखोकी, ज्वरो, शरीर दुखाइजस्ता समस्या छन्,’ उनले भने, ‘आइसियूमा राखिएका बिरामीमा पनि गम्भीर समस्या छैन ।’

संक्रमितको ठूलो हिस्सा काठमाडौंकै छ । हाल सक्रिय संक्रमितमध्ये ७१ प्रतिशत काठमाडौं उपत्यकाका छन् । बिहीबारसम्म एक हजार एक सय ७१ सक्रिय संक्रमितमध्ये आठ सय ३१ अर्थात् ७१ प्रतिशत उपत्यकाका हुन् ।

उपत्यकामा पनि काठमाडौं जिल्लामा संक्रमण उच्च छ । बिहीबार थपिएका नयाँ संक्रमितमध्ये एक सय ३७ अर्थात् ५२ प्रतिशत काठमाडौं जिल्लाका मात्रै छन् ।

बुधबार कुल संक्रमित दुई सय ६ रहेकोमा काठमाडौंमा सय संक्रमित थिए । मंगलबार एक सय ७७ कुल संक्रमित रहेकामा काठमाडौंका ९० थिए । त्यस्तै, सोमबार कुल एक सय ६६ मा ८२ संक्रमित काठमाडौं जिल्लाका थिए ।

देशभर कोरोनाविरुद्धको खोप सबै उमेर समूहमा प्रयोग हुँदै आएको छ । बुधबार ७२ हजार तीन सय २० डोज खोप प्रयोग भएको छ ।

योसँगै हालसम्म चार करोड ७५ लाख ३५ हजार तीन सय ७८ डोज खोप प्रयोगमा आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कुल जनसंख्याको ६९.९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । तर, विश्वभर नै पुनः अस्पताल भर्नादर बढ्दै गएकाले विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here