संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनबीचको तालमेललाई निरन्तरता दिनुपर्ने सुझाव


२८ असार २०७९, मंगलवार १८:४७ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सदस्यहरुले संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनबीचको तालमेललाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको बैठकमा धारणा राख्ने सदस्यहरुले स्थानीय तह निर्वाचनमा गठबन्धनबीचको तालमेल प्रभावकारी देखिएको भन्दै आगामी निर्वाचनमा पनि यसलाई निरन्तरता दिन सुझाव दिएका हुन् । केही स्थानमा सन्तोषजनक नभएपनि अधिकांश स्थानमा तालमेलले राम्रो परिणाम दिएको उहनीहरुको भनाइ छ ।

यसअघिका कमी कमजोरीलाई सुधार गर्दै स्थानीय तहको मतपरिणामका आधारमा अव तालमेल हुनुपर्ने सुझाव आएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । केही नेताहरुले पार्टीको फोरम बाहिर धारणा राख्ने क्रम बढेकाले यस्तो नगर्न सचेत गराइएको उहाँले बताउनुभयो । महतले पार्टीभित्रको बिमती र असन्तुष्टिहरुले बैठकमा राख्न निषेध नगरिएको बताउनुभयो ।

त्यस्तै उहाँले वर्तमान सरकार गठन भएको १ बर्ष पुरा भएको र सरकार सन्तोषजनक ढंगले चलेको दावी गर्नुभयो ।

बैठकमा मंगलबार रामचन्द्र पौडेल, चित्रलेखा यादव, उमा रेग्मी, जीपछिरिङ लामा, पदमनारायण चौधरी, आनन्दप्रसाद ढुंगाना लगाएतले धारणा राखेका थिए भने सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धि मस्यौदा छलफलका लागि प्रस्तुत गर्नुभएको थियो । बैठकमा प्रदेश सभापतिहरुले मर्यादाक्रम नमिलेको भन्दै आपत्ती जनाएका छन् । केन्द्रीय कार्यसमितिको बैठक असार २९ गते दिउँसो १ बजे पुन बस्ने कांग्रेसले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here