काठमाडौँ । नेकपा एमालले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षीलाई दिनुपर्ने भन्दै समितिको मंगलबारको बैठक बहिष्कार गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको बैठकमा एमालेका सांसदहरुले वर्तमान सरकार गठन भएको एक बर्ष पुग्दा पनि समितिको सभापति सत्तापक्षले नै राखेको भन्दै बैठक बहिष्कार गरेको हो । बैठकमा सभापति भरत कुमार शाहले समितिको बार्षिक प्रतिवेदन पारित गर्न प्रस्ताव गर्नुभएको थियो । तर एमाले सांसद विशाल भट्टराई र गोकुल बास्कोटा लगाएतले सभापतिले राजीनामा दिनुपर्ने र प्रतिपक्षीबाट नयाँ सभापति चयन हुनुपर्ने बताएका थिए । लेखा समितिको नेतृत्व विपक्षी दलले पाउने परम्परा रहेकाले वर्तमान सभापतिले मार्गप्रसस्त गर्नुपर्ने उनीहरुको भनाई थियो ।
सभापति शाहले बार्षिक प्रतिवेदन पारित गरेर सभापतिको बिषयमा छलफल गर्न आग्रह गर्दा प्रतिपक्षी सांसलहरुले सभापति फेरिएपछि मात्रै लेखा समितिको कामकारबाहीमा भाग लिने भन्दै बैठक बहिष्कार गरेका थिए । त्यसपछि बैठकले बहुमतका आधारमा समितिको २२ औँ वार्षिक प्रतिवेदन पारित गरेको समिति सचिव रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।
बैठकमा अन्य सांसदहरुले सभापति परिवर्तन गर्ने विषयको भिन्दै प्रक्रिया रहेको भन्दै समितिमा यस्ता बिषय नउठाउन विपक्षी संसदहरुलाई सुझाव दिएका थिए । समितिका हालका सभापति भरत कुमार शाह कांग्रेसका हुनुहुन्छ ।





