झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा सोमबार पिकअप गाडीले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सा चालकको मृत्यु भएको छ।
बुद्धशान्ति–७ का अटोचालक ४१ वर्षीय भानु खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। दुर्घटनामा अटोमा सवार दुई जना घाइते भएका छन्।
बुद्धशान्ति–४ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को२च २०६३ नंको पिकअपले सोही दिशातर्फ जाँदै गरेको मे१ह ४६४४ नंको अटोलाई पछाडिबाट ठक्कर दिएको हो।
दुर्घटनामा अटोचालक खड्कासँगै मेचीनगर–७ की १८ वर्षीया बिना सेन्चुरी र मेचीनगर–४ की ३२ इन्दिरा राई घाइते भएकी थिइन्। घाइते भएकामध्ये अटोचालक खड्काको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा अपराह्न साढे ४ बजे मृत्यु भएको हो।
दुर्घटनामा संलग्न पिकअप र चालक इलाम सूर्योदय नगरपालिका–१० का ५१ वर्षीय दिलीपकुमार प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।





