झापा । वित्तिय साक्षरता तथा बजारीकरण सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतको अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले कुनै पनि काम ठुलो सानो नहुने भएकालेआफुले सिकेको सिपलाई रोजगारीमा परिणत गर्न सहभागिहरुलाई आग्रह गर्नु भयो । नगरपालिकाले एक हजार पाँच सय जनालाई सिप सिकाएर उद्यमी बनाउने लक्ष लिएको भन्दै उहाँले महिलाहरु आफ्नो खुट्टामा आफैँ उभिन सक्षम हुनु पर्नेमा जोड दिनु भयो । उद्यमीहरुले उत्पादन गरेको वस्तुलाई वजारीकरण गर्नका लागि नगरपालिकासंग सहकार्य गर्न पनि उहाँले सुझाव दिनु भयो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले लघु उद्यम विकास कार्यक्रम अन्तर्गत रहेर महिलाहरुलाई उद्यमी बनाउने नगरको लक्ष्य रहेको बताउनु भयो । स्वरोजगार र उत्पादनसंग जोड्नका लागि यस प्रकारका कार्यक्रम फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नु भयो । सहभागिहरुलाई नगरका सहकारी तथा सामाजिक विकास अधिकृत डिल्ली दाहाल, एक्सल बैङ्कका शिवकुमार गिरी र टिका प्रसाद दाहालले प्रशिक्षण प्रदान गर्नु भएको छ ।
वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाको अध्यक्षता तथा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको प्रुमख आतिथ्यता आयोजित कार्यक्रमको सञ्चालन वरिष्ठ उद्यम विकास सहजकर्ता चनिमाया तामाङ्गले गर्नु भएको थियो । कार्यक्रममा लघु उद्यम विकास कार्यक्रम अन्तर्गत छनोटमा परेका ५५ जनाले सहभागिता जनाएको सहजकर्ता कल्पना शिवाकोटीले जानकारी दिनु भयो । कार्यक्रममा महिला उद्यमीहरुले उत्पादन गरेको अचार,धुप,मसला लगायतका सामाग्रीहरु समेत राखिएको थियो ।





