काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले भेटवार्ता गर्नुभएको छ ।
चारदिने नेपाल भ्रमणमा रहनुभएका सिपिसीका विदेश विभाग प्रमुख लिउले सोमबार अपराह्न खुमलटार पुगी प्रचण्डसंग भेटवार्ता गर्नुभएको हो । भेटवार्ताका क्रममा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको थियो । भेटका क्रममा प्रचण्डले एक चीन नीतिका लागि नेपाल र नेपाली जनता प्रतिवद्ध रहेको बताउनुभएको थियो । नेपालको बिकासको प्रक्रियामा चीनले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दै प्रचण्डले चीनमा अध्ययनरत बिद्यार्थीहरुको समस्या समाधान, चीन नेपालबीचको व्यापार र नाका सहज रुपमा खोल्न आग्रह गर्नुभएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
भेटका क्रममा लिउ जियानचाओले नेपालको बिकासको प्रक्रियामा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । बीआरआइका सम्झौतका सम्दर्भमा नेपालले गर्ने प्रस्तावलाई सहयोग गर्ने समेत उहाँले बताउनुभएको श्रेष्ठले बताउनुभयो । नेपालको कुनै पार्टीमा हस्तक्षेप गर्ने नीति नरहेको समेत लिउ जियानचाओले स्पष्ट पार्नुभएको श्रेष्ठले जानकारी दिनुभयो ।
भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर महरा, वर्षमान पुन, देवप्रसाद गुरुङ र नेत्री पम्फा भुसाल पनि सहभागी हुनुहुन्थ्यो ।





