स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम आउन नसक्नुमा एमाले अध्यक्ष ओलीले औंल्याउनु भएका चार कारण


२७ असार २०७९, सोमबार १३:३८ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सोचेजस्तो सिट ल्याउन नसक्नुको गम्भीर समीक्षा गर्नुपर्ने औंल्याएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन–४ जारी गर्दै लोकप्रिय मतमा सर्वाधिक ठूलो र लोकप्रिय पार्टीका रूपमा स्थापित हुनु तर सिट सङ्ख्याका हिसाबले दोस्रो स्थानमा सीमित हुन पुग्नु गम्भीर र सोचनीय विषय भएको बताउनु भएको छ।

ओलीको भन्नुभएको छ, ‘यसको एउटै निष्कर्ष हो– जनताको मनमा हाम्रो पार्टीप्रति विश्वास, भरोसा र समर्थन यथावत् छ (अझ बढिरहेको छ), तर त्यसलाई सही ढङ्गले सम्मान गर्ने, कुशल व्यवस्थापन गर्ने र त्यसलाई निर्वाचन परिणाममा ढाल्ने हाम्रो क्षमतामा भने गम्भीर समस्या देखापरेका छन्।’

यसपटक निर्वाचनमा विगत कहिल्यैको भन्दा बढी असमझदारी, असहयोग र अन्तर्घातकै कारणले एमालेले सोचेजस्तो मत ल्याउन नसकेको विश्लेषण गरेका छन्।

गठबन्धनको सङ्ख्यात्मक पक्ष र यसले सिर्जना गरेको मनोविज्ञान, सत्ताको चरम दुरुपयोग र हाम्रा केही आन्तरिक कमजोरीका कारण आफ्नो पार्टीले अपेक्षित सिट जित्न नसकेको पार्टी अध्यक्ष ओलीले उल्लेख गर्नुभएको छ।

असफलताको कारणहरू

  • विभिन्न कारणले हामीले कमिटी प्रणाली र सङ्ठनात्मक जीवनमा समस्याहरु झेल्दै आयौं । लामो समय अभियानमै केन्द्रित हुनुपरेको अवस्था (नवौं महाधिवेशनदेखि नै संविधान निर्माण, भूकम्पपीडितहरुको सेवामा स्वयंसेवक परिचालन, नाकाबन्दीको विरोध, मेची–महाकाली राष्ट्रिय अभियानलगायत) रह्यो । त्यसपछि स्थानीय तथा प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा शृङ्खलाबद्ध रुपमा केन्द्रित हुनुपर्‍यो । पार्टी एकीकरणको तयारी, एकीकरण, त्यसलगत्तै केन्द्रीय कमिटीबाहेक सबै कमिटी भङ्ग गरिएपछि उत्पन्न कमिटीबिहीन अवस्था, कमिटी एकीकरणमा उत्पन्न जटिलता, त्यसपछि उत्पन्न पार्टीभित्रको आन्तरिक किचलो र पार्टी विभाजनको अवस्था आदिका कारण हामी लामो समयसम्म सङ्गठन सुदृढीकरण गर्ने काममा केन्द्रित हुन पाएनौं । यी चुनौतीलाई पार गर्दै गत वर्ष असोजदेखि मात्रै आधारभूत तहबाट शृङ्खलाबद्ध कमिटी निर्माण प्रक्रिया सुरु हुन सक्यो । समयाभाव र कमिटी निर्माणमा कतिपय असावधानीले गर्दा हाम्रा आधारभूत कमिटीहरु जुनस्तरमा जनतासँग जोडिन सक्नुपथ्र्यो, स्थितिको विश्लेषण र त्यसलाई पार्टीको पक्षमा रुपान्तरित गर्न जति सक्षम हुनुपथ्र्यो, कतिपय ठाउँमा त्यस्तो हुन सकेन । केही ठाउँमा त पार्टीले पाएको मत पार्टी सदस्यहरुभन्दा पनि कम रह्यो, एकाध ठाउँमा कमिटी सङ्ख्या जति पनि लोकप्रिय मत हासिल हुन नसकेको जस्ता विडम्बना देखापर्‍यो । पार्टीको कमजोर सङ्गठनात्मक प्रणाली प्रतिकूल परिणामका लागि एउटा महत्वपूर्ण कारण बन्नपुग्यो ।
  • उमेद्वार छनौटमा पनि कतिपय ठाउँमा त्रुटिहरु हुनपुगे । लोकप्रियभन्दा पनि निकटका व्यक्तिलाई उमेद्वार बनाउन जोड दिइँदा, पार्टीले तय गरेको प्रक्रिया र पद्धतिविपरीत खास व्यक्तिलाई उमेद्वार बनाउन या नबनाउनका लागि भएका सङ्गठित लबिङले पनि केही ठाउँको परिणाम प्रतिकूल हुनपुग्यो ।
  • यसपटक निर्वाचनमा विगत कहिल्यैको भन्दा बढी असमझदारी, असहयोग र अन्तर्घातका घटनाहरु देखापरे । आफू या आफूले सिफारिस गरेको व्यक्तिले उमेद्वारी नपाएपछि समग्र निर्वाचन अभियानलाई नै कमजोर गर्ने गरी असमझदारी बढाउन, उमेद्वारलाई असहयोग गर्ने र अन्तर्घात गर्नेसम्मका घटनाहरु देखापरे । यसमा पार्टीका कतिपय जिम्मेवार कार्यकर्ता नै सङ्लग्न भएको समेत देखियो । कैयौं पालिका र वडामा त पालिका प्रमुख या वडाअध्यक्षलाई निशाना बनाएर मत खाली राखेर या विपक्षीलाई दिएर हराउने काम समेत भयो । पार्टीभित्र पैदा भएको यसप्रकृतिका हानीकारक र आत्मघाती प्रवृत्तिले गर्दा हामीले कतिपय पालिका र वडा गुमाएका छौं ।
  • पटक–पटकका निर्वाचनमा सहभागी भएर पर्याप्त अनुभव हासिल गरेको भए पनि यस पटक हाम्रो निर्वाचन अभियानमा कमजोरी देखापरे । परिभाषित जिम्मेवारीसहित नेता–कार्यकर्ताहरुको समुचित विन्यास, प्रभावशाली र मतदाताको मन जित्ने खालको प्रचार शैली, प्रभावकारी मतदाता शिक्षा, मतदाताको घरदैलोमै पुगेर मन जित्ने प्रयास र धाँधलीका सूक्ष्म रुपको अध्ययन र त्यसको प्रतिवादजस्ता कतिपय विषयमा समेत हामी चुक्न पुग्यौं । मतदाता शिक्षामा गम्भीर हुने र जनताको घरदैलोमा पुग्नेभन्दा पनि बाहिरी र प्रचारात्मक चुनावी अभियानमा बढी केन्द्रित हुनाले बाञ्छित परिणाम ल्याउनसकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here