झापा । झापाको बिर्तामोड नगरपालिकाको न्यायिक समितिले जिल्लामै उत्कृष्ट न्याय सम्पादनको काम गर्दै आएको छ ।
बुधबार नगरपालिका कार्यालयको सभाहलमा आयोजित नगरसभामा न्यायिक समितिको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले आर्थिक बर्ष २०७८/७९ मा ४७ वटा मुद्दा फछ्र्यौट भएको जानकारी दिनुभयो । झापा जिल्ला अदालतको मूल्यांकनमा पनि बिर्तामोड नगरपालिकाको न्यायिक समिति जिल्लामै उत्कृष्ट बन्दै आएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको विषय क्षेत्र मानिएको न्यायिक कार्य सम्पादनमा बिर्तामोड नगरपालिकाको न्यायिक समिति झापामै उत्कृष्ट हुँदै आएको हो ।
सबै स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षको नेतृत्वमा न्यायिक समिति गठन हुने संवैधानिक व्यवस्था छ। प्रचलित कानुनी व्यवस्था, त्यसका आधारमा गरिएको न्याय सम्पादन र निरुपणले बिर्तामोड नगरपालिकाको न्यायिक समिति उत्कृष्ट बन्दै आएको हो । तर न्याय सम्पादनमा अझ बढी संवेदनशील र गम्भीर हुन वडाका मेलमिलाप केन्द्रका सदस्यहरूलाई नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक संग्रौलाले आग्रह गर्नुभयो ।
आर्थिक बर्ष २०७८/७९ मा ४७ वटा मुद्दा दर्ता हुनुका साथै अघिल्लो आर्थिक बर्षबाट तानिएका मुद्दाको संख्या १५ वटा रहेका थिए। तीमध्ये ४७ वटा मुद्दा फछ्र्यौट भइसकेका छन भने १५ वटा मुद्दा प्रक्रियामा रहेको उपप्रमुख संग्रौलाले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा उल्लेख छ । फछ्र्यौट हुन बाँकी रहेका मुद्दा आगामी आर्थिक बर्षमा कारबाही प्रक्रिया बढाइने उहाँले बताउनु भयो । उहाँका अनुसार प्रत्येक वडामा गठित मेलमिलाप केन्द्रले पनि प्रभावकारी रुपमा कार्य सम्पादन गरेको उपप्रमुख संग्रौलाको भनाइ छ ।





