नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहका रहेका कम्युनिष्टलाई आफ्नो पार्टीमा समावेश भएर मूल प्रवाहमा सामेल हुन आग्रह गर्नु भएको छ ।
आइतबार काठमाडौंमा नेत्रविक्रम चन्द नेतृत्वको समूहका पोलिटब्युरो सदस्य पदम राईलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले कुनै दिन मुलुकको समृद्धि र समाजवादका लागि विप्लव पनि यही पार्टीमा आएर जोडिनुपर्ने बताउनु भयो ।
उहाँले विप्लव समूहले लिएको बाटो गन्तव्यमा नपुगिने भएकाले यही पार्टीमा आएर मूलप्रवाहीकरण हुनुपर्ने बताउनुभएको हो ।लामो बलिदान र सङ्घर्षबाट नेपालमा कम्युनिष्ट आन्दोलन लोकप्रिय भई अहिले सत्ताको नेतृत्वमा रहेको भन्दै उहाले सुशासन र समृद्धिको यात्रालाई सफल बनाउनुपर्ने बताउनुभयो ।उहाँले सरकारले समाजवादको उद्देश्यमा जोड दिएर नीति कार्यक्रम र बजेट ल्याएको उल्लेख गर्दे सापेक्षितरुपमा तल्लो वर्ग र उत्पीडित वर्गलाई प्राथमिकता दिएर समाजवादको आधार तयार गरिरहेकाले अन्य समूहका कोही कम्युनिष्टका नाममा छरिएर रहन नपर्नेमा जोड दिनुभयो ।
पार्टी प्रवेश कार्यक्रममा नेता राईले पछिल्ला समयमा कतिपय घटना र अवस्थाका कारण हिंसात्मक लडाईं गर्दा कुनै शक्तिले केही नपाउने तर देश र जनताले फेरि दुःख पाउने भएकाले सो समूह परित्याग गरेको बताउनुभयो ।
पूर्वभौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीसमेत रहनुभएका राई पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।अध्यक्ष प्रचण्डसहित पार्टीका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा , महासचिव विष्णु पौडेललगायतले राईलाई स्वागत गरेका थिए ।





