नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) विभाजित


२० असार २०७९, सोमबार १९:२८ मा प्रकाशित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) विभाजित बनेको छ ।

संगठनको पवन कार्की समूहले आगामी भदौमा राष्ट्रिय भेलाको आयोजना गर्ने घोषणा गरेको छ । उक्त समूहले कार्कीको संयोजकत्वमा १९९ जना केन्द्रीय कमिटी पनि घोषणा गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी भाद्र ३० र ३१ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने जानकारी दिइएको हो । संयोजक पवन कार्कीले अनेरास्ववियु क्रान्तिकारीलाई शसक्त संगठन बनाउन, विद्यार्थी आन्दोलनलाई झनै क्रियाशिल बनाउन, विद्यार्थीको हकअधिकार स्थापित गर्न राष्ट्रिय भेलाको आयोजना गर्न लागिएको बताउनुभयो ।

पञ्चा सिंह नेतृत्वले विधानअनुरुपको कमिटी गठन गर्न नसकेको उहाले आरोप लगाउनुभयो । अध्यक्ष सिंहले संगठनमा कुनै छलफल र सल्लाह नै नगरी फेसबुकमार्फत कार्यसमिति सार्वजनिक गरेको कार्कीको आरोप छ । उहाँले राष्ट्रिय सम्मेलनमा आफूहरुले विधि र विधानको कुरा उठाउँदा उल्टै आफूहरुमाथि आक्रामण भएको पनि बताउनुभयो ।

यही असार १८ गते काठमाडौंमा सम्पन्न भएको घोषणासभाले राजनीतिक, सांगठनिक र समसामयिक प्रस्ताव पारित गरेको छ । घोषणासभाले २२औं राष्ट्रिय सम्मेलनबाट पारित विधान र प्रतिवेदनलाई अक्षरशः पालन गर्ने प्रण गर्दै सबै अवैधानिक समिति खारेज गर्दै विधानसम्मत समिति निर्माण गर्ने प्रतिबद्धता पनि गरेको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here