प्रधानमन्त्री कप कर्णाली प्रदेशलाई हराउँदै प्रदेश नम्बर १ विजयी


१७ जेष्ठ २०७६, शुक्रबार १८:०६ मा प्रकाशित

काठमाडौं ।  प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले पहिलो जित हात पारेको छ ।

शुक्रबार भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ८० रनको फराकिलो अन्तरले पराजित गर्दै प्रदेश १ ले पहिलो जित निकालेको हो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश १ ले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कर्णाली २० ओभर १ बलमा मात्र ४७ रन बनाउँदा अलआउट भयो । कर्णालीका निश्चल रावलले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

कर्णालीलाई सस्तैमा समेट्न प्रदेश १ का कप्तान पुष्प थापाले ६ विकेट हात पारे ।उनले ९ ओभर १ बलमा १ मेडनसहित १९ रन खर्चिए ।यस्तै मुकुन्द यादबले ३ तथा कमल खत्रीले १ विकेट हात पारे ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो । प्रदेश १ का सिद्धान्त लोहनीले ७ चौकाको मद्दतमा ६३ रन बनाउँदा रिटायर्ड हर्ट हुन् पुगे ।

यस्तै फिर्दोस अन्सारीले अविजित ४५, सुन्नी पुनले ३४, कप्तान पुष्प थापा २९ रन जोडेका थिए । कर्णालीका प्रकास जैसी, ललित प्याकुरेल र दिवन पुनले समान २–२ विकेट हात पारेका थिए ।जितसंगै समूह ’बी’ को प्रदेश १ ले ३ खेलमा २ अंक जोडेको छ । प्रदेश १ तेस्रो स्थानमा रहेको छ । कर्णालीको यो चौंथो हार हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here