पाँचथर । गत जेठ ६ गते राति पाँचथरको मिक्लाजुङ गाउपालिका–३ आरुबोटेको २ घरमा भएको विभत्स हत्याकाण्ड मानबहादुर माखिमले नै गरेको प्रहरीको स्थलगत अनुसन्धानले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
घटनाको स्थलगत अनुसन्धानले विभत्स हत्या भएको अर्काे दिन जेठ ७ गते झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका मानबहादुर माखिमले नै सबैको हत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको हो । प्रहरीका अनुसार घटना स्थलमा भेटिएको खुकुरी आत्महत्या गरेका माखिमको रहेको थियो ।त्यस्तै माखिमले झुण्डिन प्रयोग गरेको डोरीसँग मिल्ने डोरी पनि माखिमकै कोठामा भेटिएको थियो ।
माखिमले प्रयोग गरेको मोबाइल पनि त्यस समयमा घटनास्थल आसपास नै लोकेसन देखिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुवँरले बताउनु भयो ।स्थलगत अनुसन्धानमा फेला परेका प्रमाणलाई आधार मान्दै अहिलेसम्म माखिमकै मात्र संलग्नता देखिएको कुवँरको भनाइ छ ।
प्रहरीले शंका गरेका व्यक्ति हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ हुन् । एकै रातमा ९ जनाको विभत्स हत्या गरेर माखिमले अर्काे दिन झुण्डिएर आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।





