काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीका सन्दर्भमा शेर बहादुर देउवा र प्रचण्डले सहमति जनाएको दावी गर्नुभएको छ ।
मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा मंगलबार मदनभण्डारी फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले एमसीसीकै बेला एसपीपीको मस्यौदामाथि देउवा र प्रचण्डले नै सहमति जनाएको दावी गर्नुभयो । अहिले माओवादी अध्यक्ष प्रचण्डले आफुलाई नै एसपीपीको मुख्य योजनाकार भएको भन्दै उहाँले आपत्ती जनाउनुभयो । उहाँले प्रचण्डको निर्देशनमा नै एमसीसीको चर्को बिरोध भएको समेत उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले एसपीपीका सन्दर्भमा सार्वजनिक भएको पत्र आफु प्रधानमन्त्री हुनुभन्दा अघिको पत्र भएको हुनसक्ने र र यसमा आफुलाई मुछ्नका लागि टिपेक्स लगाएर,चलानी नम्बर फेरेर पत्र बाहिर ल्याइएको तर्क गर्नुभयो । उहाँले एसपीपीका बिषयमा वास्तविक कुरा बाहिर ल्याउन सरकार र अमेरिकी दूतावासको ध्यानाकर्षण गराउनुभयो । उहाँले गठबन्धनमा एमसीसी ठिक छ भन्नेहरु नै एसपीपीको पक्षमा लागेको भन्दै अर्को जाल दिएर एसपीजीमा सामेल हुने सम्भावना कायमै रहेको जिकिर गर्नुभयो । ओलीले गठबन्धनले राष्ट्रियतामाथि चरम खेलबाड गरेको आरोप लगाउनुभयो ।
कार्यक्रममा हरेक वर्ष प्रदान गर्दै आइरहेको मदन भण्डारी राष्ट्रिय पुरस्कार कृष्ण राई र प्रभा चालिसेलाई प्रदान गरिएको थियो ।





