विराटनगर ‘कि जमिनको मुआब्जा दिनुपर्ने कि रोक्का जमिन फुक्का गरिनुपर्ने’ माग राखेर एक सातादेखि सडक आन्दोलनमा रहेका विराटनगर विमानस्थल पीडितहरूको मागमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिनु भएको छ ।
आइतबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, विराटनगर महानगरपालिकाका पूर्व मेयर तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली सहित ५ जनाको टोलीले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर २० बर्षदेखि विराटनगर विकासमा पछि पर्दै गएकोले विकासका लागि प्रधानमन्त्रीले पहल गरिदिन आग्रह गरेका थिए ।
भेटघाटको क्रममा प्रधानमन्त्री देउवाले पहिले जमिनको रोक्का फुकुवा गरिदिने र पछि बजेटको व्यवस्था गरेपछि विमानस्थल क्षेत्रीय स्तरको बनाउन आफूले सक्दो सहयोग गर्ने बताउनु भएको छ ।
विराटनगर विमानस्थल क्षेत्रीय स्तरको बनाउन बजेट बिनियोजन नगरिएको र स्थानीयको मुआब्जा पनि वितरण नगरिएको कारण स्थानीयले सडक आन्दोलन गरिरहेको जानकारी अर्यालले प्रधानमन्त्रीलाई गराउनु भएको थियो ।
पूर्व मेयर पराजुलीले विराटनगर विमानस्थलको ठेक्का लागिसकेको टर्मिनल भवनको ठेक्का रद्द गरेर विराटनगरको विकासलाई पछि धकेल्न्ो काम भएको जानकारी गराउनु भयो ।
प्रधानमन्त्रीलाई विराटनगरको रिङरोड शिलान्यास भएको ४० बर्ष पुग्दा पनि नबनेको, विराटनगरको ढुवानीको समस्या समाधान नभएको, प्रदर्शनी स्थल नबनेको, ६ सय विगाह जमिन भएर पनि अमडुवामा स्पेशल इकोनोमिक जोन बन्न नसकेको लगायतका माग पराजुलीले राख्नु भएको थियो ।
‘विमानस्थल पीडितको समस्यामा नयाँ नागरिक उड्ययन मन्त्री आएपछि तत्काल जग्गा फुक्का गरिदिन भनिदिने प्रधानमन्त्री ज्यूले बताउनुभएको छ,’ अर्यालले भने, ‘पछि बजेटको व्यवस्था भएपछि विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाउने काम अघि बढाउने भन्नुभएको छु ।





