लक्ष्मी उप्रेती, मेचीनगर । पूर्वी काँकरभिट्टा नाका हुदैं फलफूल आयातबाट मात्रै करिब ४६ करोड रुपैयाँ बाहिरिएको छ । यो नाका भएर चालु आर्थिक वर्ष २०७८÷२०७९ को जेठ महिनासम्ममा ४५ करोड रुपैयाँ भन्दा बढीको फलफूल आयात भएको छ ।
क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार दश महिनाको अवधिमा ४५ करोड ९७ लाख २७ हजार रुपैयाँ मुल्य बराबरको आठ हजार दुईसय ३६ मेट्रिक टन फलफूल आयात भएको हो । नेपालमा मौसम अनुसारका फलफूल उत्पादन हुन्छन् ।
ती फलफूलहरु पनि विभिन्न कारणले बजारसम्म पुग्न सक्दैनन् । जसका कारण बजारमा आयातित फलफूलको हिस्सा ठूलो रहेको कार्यालयका प्रमुख बाली संरक्षण अधिकृत देविन्द्र साहुले बताउनुभयो ।
यसैका कारण ठूलो परिमाणमा फलफूल आयात भइरहेको हो । उक्त आयातित फलफूलबाट कार्यालयले निवेदन दस्तुर वापत करीव १२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले आयात तथा निर्यात वापत प्रति एउटा निवेदन बराबर दुईस रुपैयाँ शुल्क लिने गरेको कार्यालयले जनाएको छ ।





