काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले लेखापरिक्षणमा बितिय अनुशासन, पारदर्शीता र जवाफदेहीता अनिर्वाय रहेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा नेपाल चार्टड एकाउन्टेन्ट्स संघको ३७ औं बार्षिक साधारण सभा उद्घाटन गर्दै मन्त्री शर्माले लेखापरिक्षण पेशा राज्यसंग जोडिएको बिषय रहेको भन्दै पारदर्शीता आवश्यक रहेको बताउनुभयो ।
उहाँले लेखापरिक्षणलाई कुनै व्यक्ति वा संस्थाको स्वास्थ्यका आधारमा जोड्न खोजे त्यसले राज्यलाई नै असर पर्ने धारणा राख्नुभयो । समयमा नै बजेट खर्च नहुने समस्या समाधानका लागि पनि लेखापरिक्षकहरुको सुझाव सरकारले लिने उहाँले बताउनुभयो । त्यस्तै अर्थमन्त्री शर्माले देशको अर्थतन्त्रलाई बलियो बनाउनका लागि बजेटमा उत्पादनलाई जोड दिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्माले लेखापरिक्षणलाई पूर्ण रुपमा डिजिटल बनाउनुपर्ने बताउनुभयो । उहाँले लेखापरिक्षणको क्षमता अभिबृद्धि गर्दै यस क्षेत्रलाई थप विश्वस्नीय बनाउनुपर्नेमा जोड दिनुभयो ।





