राष्ट्रियसभाका बैठकद्धारा औषधि विधेयकमाथिको प्रस्ताव सर्वसम्मत स्वीकृत


२ असार २०७९, बिहीबार १७:१४ मा प्रकाशित

काठमाडौँ । राष्ट्रियसभाका बैठकले औषधि (तेस्रो संसोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बिहीबार बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले उक्त प्रस्ताव पेश गर्नुभउको थियो । त्यस्तै बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि बैठकमा सांसदहरुले रणनीतिक साझेदारी कार्यक्रम (एसपिपी)ले नेपालमा पर्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्ने बताएका थिए ।

नेकपा (माओवादी केन्द्र)का सांसद नारायणकाजी श्रेष्ठले अहिले स्वाधिनताको विषयमा गम्भिर प्रश्न उठेको बताउनुभयो । नेपालको घोषित परराष्ट्रनीतिमा सार्वभौमसत्ता, भौगोलिक अखण्डता, असङ्लग्ननीति र स्वतन्त्र परराष्ट्रनीति उल्लेख रहेको उहाँले बताउनुभयो । सन्तुलित कुटनीतिमा विचलन आउँदा शक्ति राष्ट्रहरु कुनैले पक्षमा र अर्काेको विरोधमा प्रयोग गर्न खोजेको उहाँको भनाइ छ । सांसद् तुलप्रसाद विश्वकर्माले एसपिपीको वास्तविकताबारे सरकारले सदनमा स्पष्ट गर्नुपर्ने बताउनुभयो ।

सांसद जितेन्द्रनारायण देवले प्रधानमन्त्रीको अमेरिका भ्रमणले दुई देशको सम्बन्ध सुमधुर बनाउने विश्वास व्यक्त गर्नुभयो । सांसद् भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री र प्रधानसेनापति अमेरिका जाँदा सम्झौतामा हस्ताक्षर हुँदैछ भनेर जनस्तरमा आक्रोस र चिन्ता रहेको बताउनुभयो । बैठकले पूर्वमन्त्री मिथिला चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । रााष्ट्रियसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here