नागरिकता विधेयक संसदबाट पारित भए सरकारमा सहभागी हुनसक्ने लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताउनु भएको छ । शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकार लोकतान्त्रिक समाजवादी पार्टीका १३ जना सांसदको समेत समर्थनमा बनेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा दोस्रोपटक सरकार बन्दा नागरिकता अध्यादेश ल्याउने सहमति भएपछि उक्त सरकारमा यो दल सामेल भएको थियो । तर अध्यादेश सर्वोच्चको आदेशका कारण खारेज मात्र भएन, मन्त्रिपरिषद् विस्तारलाई नै सर्वोच्च अदालतले अवैध भनेपछि लोसपाका मन्त्रीहरू हट्नुपर्यो ।
संसद पुनःस्थापनासँगै २७ असारमा प्रधानमन्त्री भएका देउवासँग लोसपाले आफ्ना कार्यकर्तामाथि लागेको मुद्दा फिर्तासहित जन्मसिद्धका सन्तानलाई नागरिकता दिने गरी नागरिकता विधेयक ल्याउनुपर्ने माग राख्यो ।
देउवा सकारात्मक भएपछि लोसपाले सरकारलाई समर्थन गर्यो । तर सरकारले नागरिकता विधेयक ल्याउन उदासीनता देखाएको भन्दै लोसपाका नेताहरूले प्रधानमन्त्री देउवालाई बारम्बार भेटिरहेका छन् ।





