काठमाडौँ । सांसदहरुले तत्काल मल अभाव अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पेश गर्नुभएको छ ।
जरुरी सार्वजनिक महत्वको विषयमाथिको छलफलका क्रमा उनीहरुले विगतदेखि नै पहल हुँदै आए पनि मलको आपूर्तिको समस्या कायमै रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । छलफलमा भाग लिँदै सांसद खगराज अधिकारीले मुलुकलाई चाहिले चार लाख मेट्रिकटन मल कहिले ल्याउने हो भनी सरकारसँग प्रश्न गर्नुभयो ।
उहाँले मुलुकमा १० लाख मेट्रिकटन धान अभाव रहेको, विश्वका कतिपय मुलुकले निर्यातमा रोक लगाइसकेका बेला अब नेपालले किन्नसमेत पाउने अवस्था नरहेपछि धान, चामल किन्न कहाँ जाने भन्दै प्रश्न गर्नुभयो । उहाँले समयमै मलखाद दिन नसके उत्पादकत्व घट्ने र मुलुक ठूलो खाद्यान्न अभावमा पर्ने देखिएको बताउनुभयो ।
त्यस्तै सांसद मीन विश्वकर्माले मल समयमा किसानले पाउनुपर्नेमा जोड दिँदै विगतमा अनियमितताको आशङ्कामा अख्तियारले पत्र काटेकाले कृषि सामग्री संस्थानले टेण्डर रद्द भएको बताउनुभयो ।
सांसद शक्तिबहादुर बस्नेत मुलुकको विभिन्न परिस्थितिका कारण मुलुकमा सधैँ नै मल अभाव हुँदै आएको र समस्या समाधानका लागि हरित अर्थतन्त्र नै महत्वपूर्ण भएको बताउनुभयो समस्या कृषि मन्त्रीबाटै पनि समाधान हुन नसक्ने भएकाले प्रधानमन्त्रीस्तरबाटै उच्चस्तरीय संवाद जरुरी रहेको उहाले बताउनुभयो ।
सांसद महेश बस्नेत फोहरलाई कम्पोष्ट मलका रुपमा रुपान्तरण गर्ने योजना ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।





