बरुण मल्टिपल कलेज संखुवासभा बन्यो सूर्योदय क्विज सिजन-६ को विजेता


२८ जेष्ठ २०७९, शनिबार ०३:५२ मा प्रकाशित

बिर्तामोड । संखुवासभाको खाँदबारीमा रहेको वरुण मल्टिपल कलेज प्रदेश स्तरीय सूर्योदय क्विज सिजन-६ को विजेता बनेको छ ।

जनता मल्टिपल कलेज इटहरीलाई पछि पार्दै वरुण मल्टिपल कलेज खाँदवारी क्विज च्याम्पियन बनेको हो ।
सिजनको फाइनल राउन्ड निकै रोचक भएको थियो । फाइनलमा वरुण र जनता मल्टिपल कलेजबिच टाइब्रेकरपछि वरुण मल्टिपल कलेजले उपाधि हात पारेको हो ।

सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीको अध्यक्षतामा सम्पन्न फाइनल कार्यक्रमको प्रमुख आतिथ्यता बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पबित्रा महतारा प्रसाईंको रहेको थियो ।

प्रतियोगितामा जनता मल्टिपल कलेज इटहरी दोस्रो, दमकको मोडल क्याम्पस तेस्रो भएका छन् । फाइनलमा कनकाई मल्टिपल कलेज सुरुंगा झापा र इटहरीको कोशी सेन्टजेम्स पनि पुगेका थिए ।

लिग राउण्ड, सेमिफाइनल राउण्ड हुँदै प्रदेश १ भरीका एक सय भन्दा बढी बिद्यालय तथा कलेजमध्येबाट ५ उत्कृष्टले फाइनलसम्मको यात्रा तय गरेका थिए ।

फाइनल राउन्ड सूर्योदय टेलिभिजनबाट जेठ २७ गते शुक्रबार राति ८: ३० बजे प्रसारण भएको थियो।

पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगदसहित प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको थियो । सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेती, प्रबन्ध निर्देशक बिष्णु मैनाली उप्रेती, मेनेजर आशिष उप्रेतीले संयुक्त रुपमा पुरुस्कार वितरण गर्नु भएको थियो ।

प्रतियोगिताको निर्णायकमा सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती र टेलिभिजनकै कार्यक्रम प्रस्तोता प्रेमसागर घिमिरे हुनुहुन्थ्यो ।

क्विज मास्टरको भूमिकामा टेलिभिजनका कार्यक्रम प्रस्तोता देवी गौतम हुनुहुन्थ्यो।

यो प्रतियोगितामा भाग लिने कोही पनि विद्यार्थीलाई घाटा नहुने टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीले बताउनु भयो ।

फाइनल कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले स्थानीय क्षेत्रका विभिन्न खालका विषय बस्तुलाई उठान गर्दै आएको टेलिभिजनलाई धन्यवाद दिँदै विद्यार्थीहरुका यस्ता प्रतिस्पर्धाले विद्यार्थीको अध्ययनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

फाइनल कार्यक्रममा द भोइस अफ किड्समा उपविजेता बनेकी अनुजा कडरिया र गायक रमेशजंग कडरियाको प्रस्तुतिले वेग्लै रौनक थपेको थियो ।

सूर्योदय टेलिभिजनका कर्पोरेट डिरेक्टर यम विमलीले सञ्चालन गर्नु भएको कार्यक्रममा सिम्रिक साकोसका कमल बस्नेत, हिमालय पार्टी प्यालेसका सञ्चालक देवीप्रसाद संग्रौला, इन्टरनेट सेवा प्रदायक संस्था ब्रोडलिङ्कका बजार व्यवस्थापक सन्तोष कार्की, डोएन टिभीका प्रबन्ध निर्देशक कृष्णप्रसाद खरेललगायतको उपस्थिति रहको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here